काठमाण्डौं — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिको टोलीले सोमबार हेलिकोप्टरमार्फत निर्माणाधीन निजगढ विमानस्थलको ‘एरियल सर्भे’ गरेको छ।
निर्माणधीन निजगढ विमानस्थलमा रूख कटानका विषयमा विवाद उत्पन्न भएपछि छानबिन गर्न गठित उपसमितिले आकाशबाटै दृश्यावलोकन गरेर जिम्मेवारी पूरा गर्न खोजेको हो।
विमानस्थलमा रूख कटानका विषयमा विवाद भएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति गठन गरेको थियो।
टोली दुई घन्टासम्म हेलिकोप्टरबाट निर्माणाधीन विमानस्थलको दृश्यावलोकन गरेर राजधानी फर्केको छ।
आफूहरुले विमास्थल निर्माण क्षेत्रमा अवतरण गरेर स्थानीयसँग पनि छलफल गर्नुपर्ने माग राखे पनि दुई घन्टा आकाशमै घुमाएर हेलिकोप्टर फर्काइएको राजभण्डारीले जानकारी दिए।
सांसद राजभण्डारीले अब गाडी चढेर आयोजनास्थलको अवलोकन गरिने बताए।
विमानस्थल निर्माणका लागि पर्यटन मन्त्रालयले वन मन्त्रालयसँग अनुमति मागे पनि वनले अनुमति दिएको छैन।
विमानस्थल निर्माणका लागि आवश्यकभन्दा बढी रूख काट्न लागेको भन्दै वन मन्त्रालयले अनुमति नदिएपछि यो विषय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिसम्म पुगेको थियो।
— नागरीक
FACEBOOK COMMENTS