काठमाडौं, पुस १३ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन सुरु गरेको हो।
ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न लागेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
काठमाडौंका दश क्षेत्रका विभिन्न १५ स्थानमा प्रदर्शन सुरु भएका छन्। विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । यसैक्रममा सभापति शेरबहादुर देउवा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा सम्बोधन गर्नेछन्। नेता पौडेलले तनहुँमा आयोजित दुई कार्यक्रमलाई सम्बोधन गर्नेछन्। काठमाडौं क्षेत्र नम्बर १ को कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोटेश्वरमा हुने सभामा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन् । केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै अन्य नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेसले ओली सरकारको संसद विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । कांग्रेसको १० गतेको केन्द्रीय कार्यसमिति बैठकले १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। अधिकांश प्रदर्शन दिउँसो १ बजेदेखि सुरू हुने कांग्रेसले जनाएको छ।
FACEBOOK COMMENTS