काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ५ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, उद्योगमन्त्री मात्रिका यादव र सबै प्रदेशका पर्यटनमन्त्रीको उपस्थितिमा बिहीकार मन्त्रालयमा भएको कार्यक्रममा ५ वर्षे कार्ययोजना सार्वजनिक गरिएको हो ।
कार्ययोजनामा नेपालमा ५ वर्षपछि एकैवर्ष २५ लाख पर्यटक ल्याउने लक्ष्य राखिएको छ । यसबाट नेपालको कुल ग्राह्थ उत्पादनमा १० प्रतिशत टेवा पुग्ने मन्त्रालयको दावी छ ।
२०७९-८० सम्म वाइडबडी र न्यारोबडी गरी १० वटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाज हुने पनि कार्ययोजनामा उल्लेख छ ।
१० वटा जहाजले संसारका धेरैजसो ठाउँमा उडान गर्न सक्ने दावी मन्त्रालयको छ ।
हरेक स्थानीय तहमा १/१ वटा हेलिप्याड बनाउने, अन्तरप्रादेशिक उडान तीव्र हुने, काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बन्ने र त्रिभुवन विमानस्थलको ३० प्रतिशत हवाई ट्राफिक घट्ने ५ वर्षे कार्ययोजनामा उल्लेख छ ।
यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत पूरा गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।
२०७९-८० सम्म त्रिभुवन विमानस्थल विस्तार पूरा हुने, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुने र नेपालमा पर्यटकको संख्या बढ्ने उल्लेख छ ।
संघीय, प्रदेश र स्थानीय गरी ३ वटै सरकारले आवश्यक नीति बनाएर कार्यान्वयन गर्दा यो उपलब्धि पूरा हुने पनि मन्त्रालयको दावी छ
यस्तै ५ वर्षभित्र नेपालका सबै होटलको गुणस्तर डिजिटल माध्यमबाट अनुगमन गरिने, पर्यटन सेवामा गुणस्तर कायम हुने, मापदण्ड बनाएर तारे र गैरतारे होटलको वर्गीकरण पनि गरिसक्ने कार्ययोजनामा उल्लेख छ ।
FACEBOOK COMMENTS