काठमाडौँ, असोज १४ – देशभर सक्रिय कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । सोमबारसम्मको तथ्यांकअनुसार २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन् । सरकारले व्यवस्थापन गर्न नसक्ने घोषणा गरेको संख्यालाई भेट्टाउन अब ४ हजार ६ सय ४ मात्रै बाँकी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार जना नाघेमा व्यवस्थापन गर्न नसक्ने असोज ७ मै घोषणा गरेको थियो ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए व्यवस्थापन गर्न नसक्ने भन्दै बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने सिफारिस गरेको थियो । मन्त्रालयको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए, ‘संक्रिय संक्रमित २५ हजारभन्दा बढी हुँदा हाम्रो पूर्वाधार र स्वास्थ्यसम्बन्धी निकायले व्यवस्थापन गर्न गाह्रो हुने भएकाले देशलाई बन्दाबन्दी गर्न मन्त्रालयले सिफारिस गर्ने निर्णय भएको छ ।’
स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमित १८ हजार पुग्दै यो निर्णय गरेको थियो । पछिल्ला ६ दिनमा २ हजार ६ सय ८२ संक्रिय संक्रमित थपिएका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा मात्रै ११ हजार २ सय ७४ जना अर्थात् ५५.२७ प्रतिशत छन् । काठमाडौंमा मात्रै ९ हजार १ सय ५३ जना छन् ।
संक्रिय संक्रमितको संख्या दिनहुँ बढेपछि स्वास्थ्य मन्त्रालयले बन्दाबन्दी गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ । ‘२५ हजार जनाभन्दा बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने सिफारिस आइपुगेको छ,’ गृह प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘बन्दाबन्दीको निर्णय सरकारले गर्ने हो ।’
FACEBOOK COMMENTS