काठमाडौँ — शनिबार बस्ने सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग नियमित संवाद गरेका छन् । भेटका विवरणहरु सार्वजनिक नभए पनि नेकपामा विकसित राजनीति घटनाक्रमसँगै प्रधानमन्त्री ओलीले थालेका संवाद अर्थपूर्ण छन् ।
बिहीबार ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग एक घण्टा लामो भेट गरे । नेपाल समूहका नेताहरुका अनुसार प्रधानमन्त्रीसँगको भेटमा नेता नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेका थिए ।
यस्तै, प्रधानमन्त्री ओलीले शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि झन्डै दुई घण्टा छलफल गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै दाहालले अर्का नेता नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेट गरेका थिए । बिहीबार प्रधानमन्त्रीलाई भेट्न जानु अगाडि नेता नेपालले दाहालसँग छलफल गरेका थिए ।
शुक्रबार नै नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरु उनको निवास कोटेश्वरमा भेला भएका थिए । अध्यक्ष दाहाल र नेपालसहितको भेलामा स्थायी कमिटी सदस्यहरुले शनिबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्न सुझाव दिएका छन् ।
यस्तो भेला अध्यक्ष दाहाल निवास खुमलटारमा पनि भएको थियो । पूर्वमाओवादी समूहका नेताहरु खुलमटार भेला भएका थिए । भेलामा सहभागी एक नेताका अनुसार शनिबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्न अध्यक्ष दाहाललाई सुझाव दिएका छन् ।
बुधबारको सचिवालय बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेपछि दबाबमा आएका प्रधानमन्त्री ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।
सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक शनिबारसम्मका लागि सारिएको थियो । सचिवालय बैठकले पार्टीको नेतृत्व टिमले अनौपचारिक प्रक्रिया अगाडि बढाउँदै २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गरेको थियो । यही सेरोफेरोमा नेताहरुले अनौपचारिक संवाद थालेका हुन् ।
नेकपाभित्र दुवै समूहले संसदीय दलका बहुमत पुर्याउन हस्ताक्षर अभियान चलाएकै बेला पछिल्लोपटक दुवै समूहका नेताहरु अनौपचारिक संवादमा जुटेका हुन् ।
‘माइन्युट’ गर्न दबाब दिने
ओली इतरसमूहमा रहेका एक नेताका अनुसार शनिबार बस्ने सचिवालय बैठकमा ओलीमाथि दबाब बनाउन राजीनामाको मिति ‘माइन्युट’ गर्न दवाव बनाउने तयारी भएको छ ।
शुक्रबार दिउँसो कोटेश्वर र खुमलटार पुगेका स्थायी कमिटीका सदस्यहरुले पनि दाहाल–नेपाललाई यही सुझाव दिएका छन् । यसमा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहमत छन् । स्थायी कमिटीका नेताहरुसँगको छलफल पछि सचिवालयका यी चार नेताबीच छलफल भएको थियो ।
ओलीले राजीनामा दिन्छु भनिसकेको हुँदा राजीनामाको मिति र त्यसपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रक्रियाबारे लिखित निर्णय गर्न प्रधानमन्त्रीलाई दबाब दिने रणनीति यो समूहले बनाएको ती नेताले बताए ।
अन्तरविरोध बढाउन प्रधानमन्त्रीले कार्ड फाल्नु भयो–युवराज ज्ञवाली
नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले गौतमलाई प्रधानमन्त्री र नेपालाई पार्टी अध्यक्ष भनेर प्रधानमन्त्री ओलीले अन्तरविरोध बढाउन कार्ड फालेको बताए ।
‘के साँच्चै प्रधानमन्त्रीले बामदेव कमरेडलाई प्रधानमन्त्री बनाउन चाहनु भएको हो त रु साँच्चीकै उहाँले राजीनामा दिन खोज्नु भएको हो त रु निवार्चित भएर आएका तमाम नेताहरु हुनुहुन्छ । अहिले सांसद नै नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछु भनेर कसरी भन्नुभयो रु अन्तरविरोध बढाउन उहाँले यो कार्ड फाल्नु भएको हो,’ नेता ज्ञवालीले भने, ‘उहाँले बामदेव कमरेडलाई धेरैपटक प्रधानमन्त्री बनाउने भन्दै आउनु भयो । तर, पटक–पटक धोका पाउनु भएको छ । यस्ता कुराबाट बामदेव कमरेडले शिक्षा लिनुपर्छ । केको लागि त्यो प्रस्ताव ल्याएको हो भन्ने कुरा चाँडै बामदेवजीले नै थाहा पाउनु हुन्छ । माधव कमरेडले पनि यो कार्ड फालिएको हो भन्ने बुझ्नु भएको छ ।’
नेता ज्ञवालीले प्रधानमन्त्रीले फालेको कार्ड समस्या समाधानका लागि नभएको बताए । ‘त्यो प्रस्ताव कुनै समाधानका लागि ल्याएको होइन । बामदेव कमरेडलाई पनि कुनै समाधानका लागि प्रधानमन्त्री बनाउन भनेर ल्याइएको प्रस्ताव होइन । माधव कमरेडसहित तीन अध्यक्ष भनिएको छ । दुई अध्यक्ष हुँदा त व्यवस्थित ढंगले पार्टी चलेको छैन,’ नेता ज्ञवालीले भने, ‘मुख्यरुपमा व्यक्तिको भागबन्डा भन्दा पनि पार्टी, सरकार र देशलाई एउटा सिस्टमको आधारमा चलाउन पर्यो भन्ने हो । पार्टी सिस्टममा चलेको छैन । एकीकरणका काम अझै बाँकी छन् । ती सबैकुराको समीक्षा गर्नुपर्छ । त्यसको लागि स्थायी कमिटी बैठक बोलाउनुको विकल्प छैन ।’
–कान्तिपुर दैनिक
FACEBOOK COMMENTS