काठमाडौं,फागुन ८ – सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटालाई तुरुन्तै बर्खास्त गरी छानविन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
मन्त्री बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग करोडौं रकमको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएसंगै राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका हुन् ।
सांसद जीतेन्द्र देवले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने माग समेत गरेका छन् ।
यसबारे निस्पक्ष छानविनको माग राख्दै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । अर्को बैठक १५ फागुनमा बस्नेछ ।