काठमाडौँ । युरोप-अमेरिकामा युरो कप-२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढङ्गले बाहिरिने गरेको सम्बद्ध अधिकारी बताउँछन् ।
युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले सट्टेबाजी तथा अनलाइन जुवामा संलग्न रहेको अभियोगमा आइतबार आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरू अधिकांश उद्योगी व्यवसायी हुन् । उनीहरू अवैध आर्जनका लागि यस्तो अपराधमा संलग्न हुने गरेको दाबी प्रहरीको छ ।
“विकसित मुलुकका नागरिकका लागि सट्टेबाजी तथा बाजी लगाउनु पर्व हो”, एक प्रहरी अधिकारीका भनाइमा नेपालमा भने त्यस्तो कार्य गैरकानुनी हो । अनलाइन बेटिङ नेपाल जस्तो अल्पविकसित मुलुकका लागि लाभदायक छैन । विशेष गरी वाट्सएप र भाइबरबाट खेलिने यो घातक जुवामा नेपाली युवा किन फस्दैछन् ? महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला भन्नुहुन्छ, “लोभले लाभ, लाभले विलाप भनेजस्तै हो ।”
“खेलाउनेहरू सबै विदेशी हुन्छन्, उनीहरू खेल्ने कसैको पनि प्रत्यक्ष सम्पर्कमा आउँदैनन्, एपबाट खेलाउँछन् र इलेक्ट्रोनिक पेबाट रकम लिन्छन्, खेल्ने र खेलाउनेबीच एजेन्ट (दलाल) हरू कमिसन लिएर प्रयोग हुन्छन्”, कोइरालाको भनाइ छ । युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतियोगितामा सट्टेबाजी लगाउने मुख्य सञ्चालक भारतीय नागरिक आदित्य भन्ने रेड्डी अग्रवाल भएको प्रहरीको आरोप छ ।
होटल ¥याडिसनका सञ्चालक आदित्यले सविता बस्नेत नाम गरेकी युवतीलाई प्रयोग गरी अनलाइन बेटिङ खेलाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एक लाख रुपियाँभन्दा माथिको सट्टेबाजीमा सम्पन्न, व्यापारी तथा सयदेखि हजार दरका सट्टेबाजीमा धेरैजसो नेपाली युवाको सहभागिता देखिएको छ ।
काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये राजेन्द्र श्रेष्ठ, जीवन लामा, सुरज टिवडेवाल, भारत विहारका अशोक गुप्ता, हरियानाका राजेशकुमार अग्रवाल, सुचित डालमिया अग्रवाल र वीरगञ्जका अमरनाथ गुप्ता व्यापारी हुन् । उनीहरूको साथबाट ३४ लाख ६५ हजार रुपियाँ बरामद भएको प्रहरीको भनाइ छ ।
सट्टेबाजीबाट आर्जित रकम कानुनी रूपमा वैध हुँदैन । ई–सेवा सहज नभएको अवस्थामा हुन्डी र आईएमईमार्फत समेत लेनदेन हुने गरेको पाइएको छ । अनलाइन बेटिङ जुवाले हुन्डी कारोबार पनि मौलाएको छ, प्रवक्ता कोइरालाका अनुसार अनलाइन ठगी पनि त्यत्तिकै छ । चीन, भारत, नेपाल, दुबई र मलेसिया गरी यी चार देशमा स्काई एपबाट बढी नै ‘अनलाइन बेटिङ’ खेल्ने गरेको पाइन्छ । नेपालमा मात्र यतिबेला २० करोड रुपियाँभन्दा बढीको रकम बाजी लगाइएको दाबी प्रहरीको छ । सो रकम हारजित जसको पक्षमा आए पनि भित्रिने भन्दा बाहिरिने सम्भावना ठूलो रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS