काठमाडौं, माघ २० – काठमाडौं उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् ।काठमाडौंका १२ र ललितपुरका ६ वटा पेटोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल आयल निगम र ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गरेको हो ।
सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइनेछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाण्डौ उपत्यकाको बढी मात्रामा गाडी आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताए।
गोइतकाअनुसार काठमाडौंबाट हटाइने पेट्रोल पम्पहरुमा कोत थुकु पेट्रोल पम्प( बालाजु) ,जयन्ती पेट्रोल पम्प (थापाथली), कनक पेट्रोल पम्प (कालीमाटी),मायाराम भोलाराम पेट्रल पम्प (थापाथली), बाबा पेट्रोल पम्प (कलङ्की), श्यामा पेट्रोल पम्प(कलङ्की), त्रिशूल पेट्रोल पम्प (कलङ्की), भ्याली रिकेश पेट्रोल पम्प (कोटेश्वर), कामाख्या पेट्रोल पम्प (कोटेश्वर), जुबी पेट्रोल पम्प (बौद्ध), बराल पेट्रोल पम्प (बौद्ध) र सीता पेट्रोल पम्प (महाराजगञ्ज) रहेका छन् ।
त्यसै गरी ललितपुरबाट हटाइने पेट्रोल पम्पहरुमा बज्रबराही पेट्रोल पम्प (चापागाउँ), बालकुमारी पेट्रोल पम्प (चापागाउँ),टीका भैरव डिजेल स्टोर( चापागाउँ), साझा पेट्रोल पम्प (जावलाखेल), एच पी इन्टरनेसनल (जावलाखेल) र गायत्री पेट्रोल पम्प (जावलाखेल) रहेका छन् ।
पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिइएको छ ।
FACEBOOK COMMENTS