काठमाडौं, फागुन १८ – फोल्डेएबल आइफोन बन्ने हल्ला एप्पलका प्रशंसकका लागि नयाँ विषय होइन। तर, अब यो हल्ला वास्तविकतामा परिवर्तन हुने अपेक्षा गरिएको छ। एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार सन् २०२३ मा फोल्डएबल आइफोन सार्वजनिक हुन सक्नेछ।
फोल्डएबल आइफोनको डिस्प्ले ७.५ इन्चदेखि ८ इन्चसम्म हुने बताइएको छ। यसको स्क्रिन आइफोन–१२ प्रो म्याक्सको भन्दा सानो हुन सक्ने द भर्जले बताएको छ।
यो फोनको फोल्ड खोल्दा यसको स्क्रिन आइप्याड मिनी आकारको हुने मिङ–ची कुओको भनाइ छ। एप्पलले स्क्रिन आकारको यो डिजाइन सामसङको फोल्डएबल स्मार्टफोन ‘ग्यालेक्सी फोल्ड’ जस्तै बनाउन खोजेको देखिन्छ।
एप्पलले फोल्डएबल आइफोनको लागि प्रोटोटाइप बनाइरहेको भएपनि यो उपकरण बजारमा आउने निश्चित भने नभएको द भर्जले उल्लेख गरेको छ। सामसङ, मोटोरोला र रोयोल जस्ता समार्टफोन कम्पनीहरुले फोल्डएबल फोनको सिरिज समेत बजारमा ल्याइसकेको छ। यो प्रतिस्पर्धामा आइफोन भने पछि परेको छ।
एप्पल अझैपनि फोल्डएबल आइफोनको प्रोटोटाइपमा काम गरिरहेको मिङ–चीले अनुमान गरेका छन्। कम्पनीले हालसम्म यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
FACEBOOK COMMENTS