काठमाडौंं – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा शेयर लगानी गर्न पाउने वातावरण बनाइएको बताएका छन् ।
‘नेपालको पानी, जनताको लगानी हरेक नेपाली जलविद्युत्को शेयरधनी कार्यक्रम’ बारे आज प्रतिनिधिसभाको बैठकमा विशेष जोड दिएर प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले भने,“मैले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छु । एउटा मात्रै आयोजनामा नरोकिनुस्, धमाधम अरु आयोजना पनि शुरु गर्नुस् । सबै नेपालीले शेयरमा लगानी गर्ने वातावरण बननुपर्छ ।” नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् कम्पनीको शेयर बिक्री भइरहेको छ ।
सोमबारसम्म लगानीकर्तालाई लगानीका लागि समयसीमा निर्धारण गरिएको छ । हालसम्म सो कम्पनीको शेयरमा करीब चार गुणाबढी आवेदन परेको छ ।
प्रधानमन्त्रीले धमाधम अन्य आयोजनामा समेत शेयर लगानी गर्ने वातावरण मिलाउनसमेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिइएको र अन्य आयोजनाको पनि छिट्टै शेयर बिक्री शुरु हुने बताए ।
मन्त्रालयले तयार पारेका कार्यसूचीअनुसार माथिल्लो त्रिशूली थ्री बीलगत्तै तामाकोशी पाँचौँ र भेरी बबई डाइभर्सन आयोजनाको अग्रिम शेयर बिक्री गरिनेछ ।
FACEBOOK COMMENTS