काठमाडाैं, २५ माघ – यातायात व्यवस्था विभागले यही फागुन मसान्तसम्ममा सरकारी निकायका सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ अघि बढाएको छ । विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेलका अनुसार फागुन मसान्तसम्ममा बाग्मती प्रदेशमा रहेका सम्पूर्ण सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गरिसक्ने भएको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानको कार्य निकै पहिले नै सुुरु गरिए पनि यसले गति लिन सकेको थिएन । तर, अब भने यसलाई तीव्र गतिमा अघि बढाइने विभागको तयारी छ । ‘पहिलो चरणमा सरकारी निकायका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दै छौँ,’ पौडेलले भने, ‘यही फागुनभित्रमा बाग्मती प्रदेशमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसक्नेछ ।’
सरकारले ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्यका साथ ०७३ सालमा बंगलादेश र अमेरिकन संयुक्त कम्पनी डेकाटुर टाइगरसँग सम्झौता गरेको थियो । यद्यपि, सुरुवाती समयमा करिब ५ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेसँगै अंग्रेजी भाषामा नम्बर प्लेट तयार गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । मुद्दा परेसँगै इम्बोस्ड नम्बर प्लेट जडान रोकिएको थियो ।
नेपाल सरकारले इम्बोस्ड नम्बर जडानका लागि डेकाटुर टाइगरसँग ४ अर्ब ३७ करोड रुपैयाँमा सम्झौता गरेको थियो । लामो अदालती प्रक्रियापछि इम्बोस्ड नम्बर प्लेट जडानको बाटो खुला भएपछि विभागले जडानको काम अगाडि बढाउन लागेको हो ।
‘पहिलो चरणमा सरकारी निकायका सवारीमा जडान गर्ने भए पनि चाँडै नै अन्य सबै सवारीसाधनमा यो अनिवार्य जडान गर्नुपर्ने प्रावधान सरकारले ल्याएको छ,’ पौडेल भन्छन्, ‘हामीले अहिले यो प्रक्रिया सुरु गर्नका लागि सहज होस् भनेर मात्रै पहिलो चरणमा सरकारी सवारीसाधन छनोट गरेका हौं ।’
पहिलो चरणको काम सकिएपछि द्रूतगतिमा सवारीका लटअनुसार जडान प्रक्रिया अघि बढाउने तयारी रहेको छ । यद्यपि, अहिले कुन लटदेखि सुरु गर्ने भनेर निर्णय भने नभइसकेको पौडेलले बताए ।
इम्बोस्ड नम्बर प्लेट जडानको प्रक्रिया ०७४ भदौदेखि सुरु भए पनि हालसम्म मात्रै ५ सय सवारीसाधनमा जडान गरिएको विभागले जनाएको छ । त्यसमध्ये हालसम्म ६ सय सरकारी निकायका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको पौडेलले बताए । उनका अनुसार विभागमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि ६ सयबाट निवेदन आएको र त्यसमा काम भइरहेको छ । पहिलो चरणमा बाग्मती प्रदेशको सवारीसाधनमा उक्त इम्बोस्ड नम्बर जडानपश्चात् अन्य प्रदेशमा पनि क्रमशः अघि बढाउने विभागको तयारी छ । हाल बाग्मती प्रदेशमा करिब ८ लाख सरकारी, निजी तथा सार्वजानिक सवारीसाधन छन् ।
सरकारी सवारीसाधनमा जडानको काम सकिएपछि चैतबाट निजी तथा सार्वजनिक यातायतमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको काम अघि बढ्ने प्राविधिक निर्देशक पौडेलले जानकारी दिए । सरकारी गाडीमा जडान सकेसँगै चैतदेखि मोटरसाइकल, स्कुटर, जिप, कार, भ्यानजस्ता निजी प्रयोजनमा प्रयोग हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने योजना रहेको विभागले बताएको छ ।
इम्बोस्ड नम्बर एक प्रकारको डिजिटल नम्बर प्लेट हो । यातायात व्यवस्था विभागले यसलाई उच्च प्रविधिको नम्बर प्लेट भनेर परिभाषा गरेको छ । यो मोटरसाइकलको पछाडि र अन्य सवारीको अगाडि सिसामा नम्बर प्लेट ‘सिंगल स्क्रोल लक’ प्रणालीमा जडान हुन्छ । यसलाई कसैले पनि निकाल्न सक्दैन । नम्बर प्लेटमा एउटा चिप्ससहितको स्टिकर हुन्छ । उक्त स्टिकरलाई आरएफआइडी भनिन्छ ।
आरएफआइडी भनेको ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ हो । सोही स्टिकरमा विभागले सवारीधनीको विवरणसहित साधन कहाँ बनेको, इन्जिन नम्बर, सवारीले कर तिरेको मिति, ठाउँलगायत विवरण राखेको हुन्छ । उक्त नम्बर प्लेट जडानपछि सवारीसाधन चोरी हुने, करछली, अपराधको घटनामा संलग्नतालगायत अन्य विविध क्रियाकलापमा कमी आउने विभागको दाबी छ ।
१० ठाउँमा आरएफआइडी स्टेसन
सवारीसाधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेट कार्यान्यवनका लागि आरएफआइडी स्टेसन आवश्यक पर्छ । स्टेसनले सवारीसाधनमा प्रयोग भएको आरएफआइडीलाई ट्र्याक गर्दछ । स्टेसनमा ट्र्याक भएको सवारीसाधनको नम्बर प्लेट विभाग र ट्राफिक प्रहरी महाशाखाले आफ्नै कार्यकक्षमा बसेर सवारीसाधनको विवरण हेर्न सक्छ । सोही आधारमा कुन सवारी कहाँ प्रवेश गरेको हो । कसको सवारी हो र यसले सवारी राजस्व तिरेको छ–छैन सहजै थाहा पाउन सकिन्छ । विभागले उपत्यका छिर्ने प्रमुख ५ नाकाका आरएफआइडी स्टेसन निर्धारण गरेको छ । उपत्यका छिर्ने नागढुंगा, फर्पिङ, जोरपाटी, जगाती र नागार्जुनमा उक्त स्टेसन निर्धारण गरेको छ भने उपत्यकाबाहिर बुटवल, इटहरी, पथलैया, अत्तरिया र कोहलपुरमा आरएफआइडी स्टेसनको स्थान तय भएको विभागले बताएको हो ।
इम्बोस्ड नम्बर प्लेट जडानलाई सरकारले चार तहमा वर्गीकरण गरेको छ । सामान्य नम्बर प्लेटको तुलनामा यो केही महँगो हुनेछ । विभागका अनुसार, नम्बर प्लेट जडान गर्न मोटरसाइकलका लागि २५ सय र तीनपांग्रे सवारीका लागि २९ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी साना तथा मझौला चारपांग्रे सवारीका लागि ३२ सय र ठूला हेभी सवारीको हकमा भने ३६ सय रुपैयाँ तय भएको छ । एकपटक नम्बर प्लेट जडान भएपछि सवारीसाधन दुर्घटना भएको अवस्थाबाहेक अन्य अवस्थामा यसलाई फेर्न नपर्ने हुँदा उपभोक्तालाई सस्तो पर्ने विभागको दाबी छ ।
विभागले दिएको जानकारी अनुसार ‘इम्बोस्ड नम्बर प्लेट’ राख्नका लागि कुनै पनि सवारी धनी एकपटक मात्र विभागमा पुगे पुग्छ । विभाग जानुपूर्व सेवाग्राहीले घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्नेछन् ।
सबैभन्दा पहिला विभागको समय तालिकाअनुसार सवारीधनीले ‘इम्बोस्ट नम्बर प्लेट’ जडानका लागि अनलाइन आवेदन भर्नुपर्नेछ । सवारीको सम्पूर्ण आवश्यक विवरणसहित उक्त आवेदन भरिसकेपछि निर्धारित रकम राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरेको भौचर नम्बरसहित पोस्ट गर्नुपर्छ । त्यसपछि उक्त आवेदन विभागको सिस्टममा आउँछ र उसले ‘इम्बोस्ड नम्बर प्लेट’ उत्पादक डेकाटुर टाइगरकहाँ पठाउनेछ । उत्पादक कम्पनीले विभागबाट आएको विवरणअनुसारको प्लेटमा रहेको आरएफआइडी चिप्ससहितको स्टिकरमा सबै विवरण राखेर विभागमा पठाउँछ ।
सवारीधनीले पेस गरेको विवरणअनुरुप फोन नम्बरमा इम्बोस्ड प्लेट तयार भएको र जडानसम्बन्धी व्यक्तिलाई म्यासेज जान्छ र त्यसपछि विभाग वा तोकिएको स्थानमा गई जडान गर्न सकिनेछ ।
FACEBOOK COMMENTS