काठमाडौं, वैशाख ४ – शनिबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि कडा रुपमा प्रस्तुत हुनु भएको छ ।
संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको र कुनै काम गर्न नदिनुभएको प्रधानमन्त्री ओलीले आरोप लगाउनुभएको राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताउनुभएको हो ।बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष लोहनीले प्रधानमन्त्री ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयाे, ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो । यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो ।’ त्यस्तै, बैठकमा प्रधानमन्त्री ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दाबी गर्नुभएको छ । सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेको उहाँको आरोप छ ।
बैठकमा आफूले प्रधानमन्त्री ओली राजनीतिक अनुभव भएको मान्छे भन्ने गरेकाले राजनीतिक अवरोध हटाउने काम आफैं गर्न पनि भनेको डा. लोहनीले बताउनुभएको छ । ‘सभामुखसँग सम्बन्ध कसरी सुधार गर्ने भन्ने विषय टुंगो आफैँ लगाउनुस् भनेर भनेको छु,’ उहाँले भन्नुभयाे ।
FACEBOOK COMMENTS