विरगज – साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याउन लागेको करिब १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ।
सरकारले चिनी आयातमा परिणात्मक बन्देज लगाएपछि कर्पोरेसनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो।
कर्पोरेसनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी खरिद गरेको थियो। ढिलो गरी आयात भएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएको हो। विगत लामो समयसम्म गोदाममै थन्किएका कारण चिनी बिग्रदै गएको छ।
२०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार साल्ट ट्रेडिङले आयात गरेको चिनी असोज ६ गते सुख्खा बन्दरगाहमा आएकाले भन्सार पास हुन नसकी गोदाममै थन्किएको छ।
सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्नेबारे विभागबाट कुनै पनि पत्र नआएकाले यस बारेमा अहिले केही भन्न नसकिने भन्सार अधिकारीको भनाइ छ।
विगत पाँच महिनादेखि भन्सारमै थन्किएको सो चिनी गोदाममा राखेको भाडावापत साल्ट ट्रेडिङले बन्दरगाह सञ्चालक कम्पनी हिमालयन ट्रर्मिनललाई चार करोडभन्दा बढी रकम तिर्नसमेत सकेको छैन। गोदाममा राखे वापतको भाडा दर प्रतिदिन तीन लाख ७६ हजार ६०० रहेकाले हालसम्म कर्पोरेशनले भाडा तिर्न नसकेको गोदाम इञ्चार्ज सुनिलकुमार सिंहले बताएका छन् ।
गत पुस अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले बन्दरगाहमा थन्किएर बसेको सो परिणामको चिनीका लागि भन्सार जाँचपासमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपछि यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढेको साल्ट ट्रेडिङ अञ्चल कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछानेले बताए।
यता साल्ट ट्रेडिङले सो चिनी आयात गर्न एलसी खोलेको थियो। चिनी आपूर्तिकर्ता गुजरातको रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी सो चिनी सुख्खा बन्दरगाहमा आइपुगेकोले चिनी गोदाममै थन्किएको हो।
विगत पाँच महिनादेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएकोले बोरा च्यातिएको, जथाभावी छरिएको, मजदुरलाई काम गर्न समस्या भएको तथा चिनीका बोरा बिग्रिन थालेपछि चिनी खराब भइरहेको मजुदरको भनाइ छ।
चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको छ। सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएको थियो। फलस्वरुप असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल भित्रिएको छैन।
सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रति केजी रु ७० का दरले किन्न बाध्य छन्। सुख्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा भारतबाट तस्करी गरी ल्याएको चिनी महँगो दरमा उपभोक्ता किन्ने गरेका छन्। रासस
FACEBOOK COMMENTS