काठमाडौँ, श्रावण १८ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन: निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण रहेरनरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका छन् ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले साउन १४ गतेको निर्णय अनुसार आरडीटी परीक्षण नगर्न पुन: जानकारी गराइएको बताए ।
सरकारले वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्न आग्रह गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १२ वर्षमुनीका बालबालिकाहरुलाई काठमाडौंजस्ता घना बस्ती भएका ठाउँहरु बाहिर ननिस्कन अनुरोध गरेको हो ।
प्रवक्ता गौतमले कोरोना संक्रमितको संख्या बढिरिहेपनि निको हुने दर पनि राम्रो भएको बताए । उनले निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिएका छन् । कोरोना संक्रमण हुँदैमा नडराउन तर सावधानी अपनाउन उनले आग्रह गरे । ८० प्रतिशत संक्रमितहरु कुनै समस्या बिना नै निको भएको प्रवक्ता गौतमको भनाइ छ ।
FACEBOOK COMMENTS