काठमाण्डौँ — सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ ।
नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।
उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले सञ्चालन गर्नेछ ।
हेलिकप्टर भीभीआईपीको उडानका लागि चौबिसै घण्टा तयारी अवस्थामा (स्ट्यान्डबाई) राखिनेछ ।
दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ ।
खरिद सम्झौताअनुसार आए नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले बुझेर आफ्ना अरू हेलिकप्टरसँगै राख्नेछ ।
सेनाले खुला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई सोझै इटालीको उत्पादक कम्पनीसँग वार्ताका माध्यमबाट खरिद सम्झौता गरी हेलिकप्टर किनेको हो ।
यो नयाँ हेलिकप्टर सुपरपुमाजस्तै भीभीआईपीको उडानमा मात्र प्रयोग हुनेछ ।
सुपरपुमा थोत्रो भइसकेकाले भीभीआईपी उडानका लागि अर्को सुविधासम्पन्न हेलिकप्टर खरिद गर्नुपरेको जानकारी सैनिक स्रोतले दिएको छ ।
सरकारले नेपाली सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडका लागि १४ करोड रुपैयाँमा विलासी गाडी खरिद प्रक्रिया पनि अघि बढाएको छ ।
राष्ट्रपतिका लागि मात्रै होइन, सुरक्षाका अगुवा र पछुवा गाडीसमेत खरिद गर्न लागिएकाले १४ करोड रुपैयाँ लाग्ने जानकारी स्रोतले दिएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS