काठमाण्डौं– सरकारले ललितपुरको सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राई फुड्स जफ्त गरेको छ ।
तिहारमा अति आवश्यक खाद्य बस्तुको बिक्री केन्द्रको अनुगमनको कामलाई तीव्रता दिएको सरकारी टोलीले बिहिबार अनुगमनको क्रममा म्याद नाघेको भेटिएपछि सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ५२ केजी ड्राई फुड्स जफ्त गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको अनुगमन टोलीले मिठाईमा प्रयोग गर्ने फ्लेबर वाटर पनि गुणस्तरहिन भएको पाइएपछि जफ्त गरेको छ ।
म्याद नाघेको, उत्पादक कम्पनीको नाम समेत उल्लेख नगरिएको चाइनिज ब्रान्डका ड्राई फ्डस सो स्टोरमा भेटिएकाले जफ्त गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए ।
त्यस अवसरमा विभागले सो डिपार्टमेन्ट स्टोर परिसरमा संचालित खाद्य बस्तु बिक्री केन्द्रमा प्रयोग गरिएको गुणस्तरहिन तेल पनि नष्ट गरेको छ ।
सरकारले उपभोक्ताको हितलाई ध्यानमा राखेर तिहारको बेलामा पनि बजार अनुगमनको कामलाई तीव्रता दिएको हो ।
FACEBOOK COMMENTS