रूकुमपश्चिम, वैशाख ९ – रुकुमपश्चिमको एक गैरसरकारी संस्थाको पुरै कार्यसमिति बहालवाला शिक्षकहरुले सञ्चालन गर्दै आएका छन् । जिल्लाकै चलेको एक एनजीओ सञ्चालन गर्दै आएका शिक्षकहरुले विद्यार्थीको पढाइ समेत असर पर्ने गरि एनजीओका गतिविधिहरुमा संलग्न हुन थालेपछि विद्यार्थीहरुको भविष्यप्रति चिन्ता बढेको छ ।
२०६३ सालमा जिल्ला प्रशासन कार्यालय, रुकुममा दर्ता भएको नेपाल जनजागरण मञ्च (एन प्याफ) नामक गैरसरकारी संस्थाको कार्यसमितिमा अधिकाशं सदस्यहरु शिक्षण पेशामा आवद्ध छन ।
संघसंस्था दर्ता ऐन २०३४ मा कुनै पनि गैरसरकारी संस्था सञ्चालनमा विभागीय अनुमतिविना सरकारी निकायका कर्मचारि तथा सरकारी शिक्षकहरु अन्य पेशा व्यवसायमा आवद्ध हुन नपाउने व्यवस्था भए पनि रुकुम जिल्लामा भने विभागीय अनुमतिविनै शिक्षकहरु गैरसरकारी संस्था (एनजीओ)हरुमा आवद्ध हुँदै आएका छन् ।
यस्ता गतिविधिमा संलग्न शिक्षकहरुलाई कारबाही गर्नुको सट्टा जिल्लास्थित नियमनकारी निकायका प्रमुखहरु नै प्रमुख अतिथि बनेर उक्त संस्थाका कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् । नेपाल जनजागरण मञ्चको हालै सम्पन्न साधारणसभा तथा अधेशनबाट अधिकाशं कार्यसमितिमा शिक्षण पेशा अझ विद्यालयको प्रशासनिक व्यवस्थापनको जिम्मेवारी भएका प्रधानाध्यकहरु नै रहेका छन् ।
स्थानीय ज्ञानोदय मावि भलाक्चाका प्रअ खम्वुसिं श्रेष्ठ संस्थाका सचिव हुन् भने उनी राजनितिक रुपमा पनि सक्रिय छन । उनी नेपाली शिक्षक संघ मुसिकोट नगर समितिका संयोजक समेत हुन ।
त्यस्तै सरस्वती मावि सल्लेका प्रअ खम्वु थापा पनि संस्थाको पदाधिकारी हुन् भने आधारभुत विद्यालय पिपलमा कार्यरत मञ्जु केसी संस्थाको उपाध्यक्षका रुपमा कार्यरत छिन् । जन विकास मावि घारिखोलाका शिक्षक टीकाराम केसी संस्थाको कार्यसमिति सदस्यको रुपमा जिम्मेवारी लिएका छन् ।
शिक्षकहरुले नेतृत्व गरेको यस संस्थाले प्रभावकारी रुपमा काम गर्न नसक्ने भन्दै दातृ निकाय तथा स्थानीयहरुले समेत गुनासो गर्दै आएका छन भने साधारण सदस्यहरुले सहमतिका नाममा शिक्षकहरुलाई नै पदाधिकारी छनोट गरिएकोमा पुनः विषेश साधारणसभाको माग समेत गरेका छन् ।
नियमन निकायहरुको मौनताले शिक्षकहरुले नेतृत्व गरेको यो संस्थाले नितिगत रुपमा काम गर्न सकेको छैन भने विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरु पनि गैरसरकारी संस्थाको काम गर्ने भन्दै विद्यालयमा समेत अनुपस्थित हुने गरेको अभिभावकहरुले गुनासो गरेका छन ।
जिल्लाको विकास निर्माणमा साझेदारी गर्दै आएका यस्ता गैरसरकारी संस्थाहरुको अनुगमन तथा नियमन गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा संस्थाको कार्य क्षेत्र भएका स्थानियतहले समेत यस तर्फ ध्यान दिएका छैनन् ।
शिक्षकहरु पेशागत रुपमा मर्यादित नहुँदा जिल्लाको शिक्षा क्षेत्र कमजोर भएको जनगुनासो आइरहँदा शिक्षकहरु नै पदीय मर्यादाविपरीत विभिन्न क्षेत्रमा आवद्ध भएका छन् । यसबारे सम्बन्धित सरोकारवाला निकायहरुले समयमै ध्यान दिएका छैन ।
FACEBOOK COMMENTS