काठमाडौं । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले प्रतिनिधिसभा पटक–पटक विघटन भए त्यसबाट स्थिर सरकार र संसद् आउने अनौठो तर्क गरेका छन् । संवैधानिक इजलासमा जारी विघटनविरुद्धको रिटमाथिको सुनुवाइका क्रममा मंगलबार उनले त्यसलाई पुष्टि गर्ने आधार प्रस्तुत गर्दै भारतको उदाहरण दिए ।
भारतमा १९७० मा इन्दिरा गान्धीले गरेको विघटनपछि १९७१ मा भएको चुनाव उनको पार्टीले ६७.९ प्रतिशत मत ल्याएर स्थिर सरकार बनाएको र त्यसपछि १९७९ मा तत्कालीन प्रधानमन्त्री चौधरी चरणसिंहले विघटन गरेपछि भएको चुनावमा एउटा दल बहुमत ल्याउन सफल भएको पाण्डेयको तर्क थियो । त्यसैले प्रधानमन्त्री केपी ओलीले गरेको अहिलेको विघटनपछि पनि बहुमतको स्थिर सरकार बन्ने भएकाले विघटन सदर गर्नुपर्ने उनको आसय थियो । ‘पार्लियामेन्ट डिजोलुसनलाई संकुचित दृष्टिले हेर्नुहुँदैन, बृहत् रूपमा हेर्नुपर्छ श्रीमान्,’ उनले भने ।
पाण्डेयले थप उदाहरण पनि प्रस्तुत गरे । ‘१९९१ मा फेरि चन्द्रशेखरले पनि विघटन गरे । १९९७ मा इन्द्रकुमार गुजरालले विघटन गर्नुभो, अदालतमा मुद्दा पर्यो, अदालतले मुद्दा खारेज गर्यो । १९९९ अप्रिलमा अटलबिहारी वाजपेयीले एक भोटले विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले पनि विघटन गरे । त्यसपछि बल्ल स्थिर सरकार बन्न थाल्यो । अटलबिहारी वाजपेयीको मिलिजुली सरकारबाट कसैले विश्वासको मत फिर्ता लिने आँट गरेन, किनभने फेरि विघटन गर्दिन्छ नि ’ उनले भने, ‘यसरी पार्लियामेन्ट पनि र गभर्मेन्ट पनि स्टेबल हुने अवस्था सिर्जना हुँदोरहेछ । २००४ मा मनमोहन सिंहको पनि मिलिजुली सरकार बन्यो, त्यो पनि पाँच वर्ष चल्यो । २०१४ मा बिजेपीले ५१ प्रतिशत सिट ल्यायो, स्टेबल सरकार बन्यो । फेरि २०१९ को चुनावमा पनि नरेन्द्र मोदीको पार्टीले ५५ प्रतिशत सिट ल्यायो र स्थिर सरकार चलाउँदै छ ।’
त्यसपछि पाण्डेयले भारतका उदाहरणको निष्कर्ष सुनाए, ‘यसरी इन्डियाको उदाहरणको कन्क्लुजन के त भन्दा श्रीमान् पटक–पटकको विघटनले पनि पार्लियामेन्ट र गभर्मेन्टलाई स्थिर बनाउँछ । यसले त सरकार बनाउन सहयोग पनि गर्नेरहेछ नि ’
लगत्तै उनलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ‘भारत नभई नेपालको उदाहरण हेर्न’ भने । ‘एउटा प्रश्न विद्वान् मित्रलाई, इन्डियामा त त्यस्तो भयो । हामी आफैँतिर फर्केर हेरौँ,’ खतिवडाले ०५१, ०५२ र ०५९ मा भएका विघटनले स्थिरता दिन नसकेको सुनाउँदै सोधे, ‘चुनावपछि फेरि पनि पार्लियामेन्ट डिजल्भ भए, फेरि चुनावमा जानुपर्ने अवस्था आयो । स्थायित्व त फेरि पनि भएन । त्यसैले भारतको उदाहरण दिँदै गर्दा नेपालमा स्थायित्व नभएको पाटो पनि त सम्झिनुपर्ने होला नि १ यसलाई कसरी हेर्ने ?’
जवाफ दिँदा नायब महान्यायाधिवक्ता पाण्डेय आफैँ अप्ठ्यारोमा परे । उनले ‘परिवर्तन तुरुन्तै खोजेर नपाइने बरु समय लाग्ने’ बताए । भारतमा पनि पटक–पटक विघटन भएको लामो समयपछि मात्र स्थिर सरकार आउन थालेको तर्क गरे । नेपालमा ०५९ मा विघटन हुनुको एउटा कारण तत्कालीन सशस्त्र द्वन्द्व पनि भएको उनको भनाइ रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS