काठमाडौं, पुस ८ – विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको बताएका छन्। बुधबार सभामुखकै हैसियतमा विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।
‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ,’ उनले भनेका छन्, ‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो।’
संविधानको रक्षाका लागि राजनीतिक दलबीच उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेको समेत उनले उल्लखे गरेका छन्। उनले संवैधानिक सर्वोच्चताका लागि सांसद्, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको उनको भनाइ छ।
अप्रत्यासित रुपमा प्रतिनिधिसभामाथि अवरोध सृजना गरिएको भन्दै उनले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको थिइन्। प्रमुख राजनीतिक दलहरूले यसको विरोध गरेका छन्।
प्रतिनिधसभा विघटन अवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा १२ थान रिट परेका थिए। यी रिटमाथि सर्वोच्चले सुनुवाइ सुरु गरेको छ।
FACEBOOK COMMENTS