काठमाडौं, भदौ ६ – कोरोना संक्रमणबाट जिल्लामा तीन जनाको मृत्यु भएको छ । हालसम्म सर्लाही सदरमुकाम मलंगवाका एक पुरुष र एक महिला तथा लालबन्दीकी एक महिला गरी तीन जनाको निधन भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको गत साउन २१ गते मृत्यु भएको थियो।
काठमाडौंस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका कोभिड–१९ सम्बन्धी तथ्यांक संकलन गर्ने लगायत स्रोत व्यक्ति सुशील झाका अनुसार शुक्रबार दिउँसो मलंगवा नगरपालिका–९ निवासी ४६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । फोटोकपी, प्रिन्ट लगायत पसल गर्दै आएका उनको ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको छ। त्यस्तै लालबन्दी नगरपालिका–७ स्थित बजारमा मःम पसल सञ्चालन गरेर बस्दै आएकी अन्दाजी ३३ वर्षीया महिलाको ओम अस्पताल काठमाडौंमा मृत्यु भएको छ।
सिन्धुलीको मरिण स्थायी घर भए पनि ती महिलाको परिवार लामो समयदेखि लालबन्दीमा कोठा भाडा लिएर बस्दै आएका थिए। मृतक महिलाको लालबन्दी–१२ जियाजोरमा माइती घर रहेको छ । उनमा केही समयदेखि ज्वरो आउने समस्या देखिँदै आएको थियो । त्यसै क्रममा ५,६ दिनअघि अवस्था जटिल बनेपछि उपचारका लागि भरतपुर पु¥याइएको थियो। तर त्यहाँको अस्पतालले भने भर्ना भने लिएको थिएन्। आफन्तले तत्कालै त्यहाँबाट बिरामी महिलालाई काठमाडौं पु¥याएका थिए।
काठमाडौंमा पनि कोरोना परीक्षण रिपोर्ट नआउन्जेल अस्पतालले भर्ना लिन नमानेको परिवारका सदस्यले बताएका छन् । अस्पतालले भर्ना लिन नमानेपछि थ्रोट स्वाब निकालेर परीक्षण गर्दा महिलामा कोरोना संक्रमण पाइएको थियो। महिलाको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको लालबन्दी–१२ का वडाध्यक्ष दुर्गा बहादुर आलेले जानकारी दिए। हालसम्म सर्लाहीमा कोरोना भाइरस संक्रमणबाट दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको कोरोना श्रोत व्यक्ति झाले जानकारी दिए।
FACEBOOK COMMENTS