काठमाण्डौँ — नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले बैंक वित्तीय संस्थालाई शाखा कार्यालय मार्फत पनि सहजीकरण गरेर सहुलियतपूर्ण कर्जा प्रवाह गर्न भनेको हो ।
कार्यविधि अनुसार बैंक वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा ऋणिबाट आधार दरमा २ प्रतिशत थपेर लिन पाउँछन् ।
तर, कर्जाको प्रक्रियागत अन्य शुल्कहरू भने लिन नपाउने व्यवस्था कार्यविधिले गरेको छ ।
बैंकहरूले सहुलियत कर्जा प्रवाह गर्दा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रूपैयाँसम्म दिन सक्ने व्यवस्था गरेको छ ।
सरकारले बिना धितोकर्जाका ऋणीलाई ५ प्रतिशत ब्याज अनुदान दिनेछ । तर, सरकारले महिला उद्यमशीलता कर्जामा भने ६ प्रतिशत ब्याज अनुदान दिन्छ ।
शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरूको निजी घर निर्माण र व्यावसायिक कृषि तथा पशुपञ्छी पालनमा सहुलियत दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था कार्यविधिमा छ ।
— कारोबार
FACEBOOK COMMENTS