काठमाडौं, २५ मंसिर- प्रधानमन्त्री केपी ओलीले १३औं साग प्रतियोगिताका विजयी खेलाडीलाई १३ करोड रुपियाँ ‘सरप्राइज’ पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बुधबार अपरान्ह बालुवाटार बोलाएर सरप्राइज पुरस्कार घोषणा गरेका हुन् । प्रधानमन्त्रीले गरेको घोषणा अनुसार स्वर्ण जित्नेलाई प्रति स्वर्ण नौ लाख रुपियाँका दरले र एकभन्दा बढि जित्नेलाई ११ लाख रुपियाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । त्यस्तै, रजत विजेता खेलाडीलाई छ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपियाँका दरले पुरस्कारको घोषणा गरिएको छ भने समूह इभेन्टमा स्वर्ण जित्ने खेलाडीहरुलाई प्रतिव्यक्ति पाँच पाँच लाख रुपियाँका दरले पुरस्कार दिने घोषणा गरिएको छ । साथै, प्रशिक्षकहरुलाई पनि पाँच लाख रुपियाँका दरले रकम दिइने बताईएको छ ।
प्रोत्साहन स्वरुप उपलब्ध गराईन् लागेको रकम १३ करोड रुपियाँ हाराहारीमा हुनेछ । यस पटक सागका बिजेतालाई अघिल्लो पटक भन्दा करिव दोब्बर बढिको दरले रकम दिन लागिएको हो । अघिल्लो सागमा स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन लाख र कास्यलाई दुई लाख रुपियाँको दरले रकम दिएको थियो। यस बर्षको साग मंगलबार साँझ सम्पन्न भएको हो । नेपालले ५१ स्वर्णसहित कुल २०६ वटा पदक हात पार्न सफल भएको छ । घोषणा कार्यान्वयन भए सागमा चार स्वर्ण जित्दै सनसनी मच्चाएकी गौरिका सिंहले न्यूनतम ५६ लाख पाउनेछिन् ।
FACEBOOK COMMENTS