काठमाडौं,कार्तिक ५ – वैदेशिक रोजगार विभागले इजाजत प्राप्त सबै म्यानपावर कम्पनीलाई पछिल्लो विवरण बुझाउन ७ दिनको समय दिएको छ ।
इजाजत प्राप्त म्यानपावर कम्पनीले आउँदो ७ दिनभित्र सञ्चालक र कर्मचारीको विवरण तयार पारी नबुझाएमा सम्पूर्ण कारोबार रोक्का गरिने विभागले जनाएको छ ।
विभागले भदौ १८ गते अगाडि एक आपसमा गाभिएका र तोकिएको धरौटी र बैंक ग्यारेन्टी राखी सञ्चालनमा रहेका म्यानपावर कम्पनीहरुलाई विवरण बुझाउन आग्रह गरेको हो । विभागले ८ सय ५४ वटै म्यानपावर कम्पनीलाई आवश्यक जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ ।
विभागले विवरणमा सञ्चालकको नाम थर, स्थायी तथा अस्थायी ठेगाना, कम्पनीमा रहेको शेयरको हिस्सा, सञ्चालक भएको मिति, मोबाईल तथा ल्याण्डलाईन नम्बर उपलब्ध गराउन आग्रह गरेको छ ।त्यस्तै कम्पनीका कर्मचारीहरुको हकमा पनि नाम थरका साथसाथै स्थायी तथा अस्थायी ठेगाना, पद, नियुक्ति मिति सहित मोबाईल तथा ल्याण्डलाईन नम्बर सहितको विवरण पेश गर्न आग्रह गरेको छ ।
नियमन गर्न सजिलो हुने भन्दै विभागले धरौटी बढाएर म्यानपावरको संख्या घटाउँदै अनुगमन प्रभावकारी बनाएको हो। म्यानपावरको अनुगमनका लागि विभागले छुट्टै निर्देशिका नै बनाएको छ ।
FACEBOOK COMMENTS