काठमाडौं, असोज १५ – सानिमा जनरल इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) अर्को सातादेखि आउने भएको छ । बीमा समितिबाट लाइसेन्सप्राप्त ३ निर्जीवन बीमा कम्पनीमध्येकै पछिल्लो आईपीओको रुपमा असोज २१ गतेदेखि २५ गतेसम्म शेयर निष्कासन गर्न लागेको हो । सानिमाको यो शेयरसँगै निर्जीवन बीमा क्षेत्रको आईपीओ निष्कासन प्रक्रिया पूरा हुनेछ ।
सानिमाले प्रस्ताव गरेको १ अर्बको चुक्ता पुँजी पुर्याउन ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको तयारी गरेको हो । अहिले सानिमाको शेयर पुँजी ७० करोड रुपैयाँ छ । ३० करोड रुपैयाँको ३० लाख कित्ता शेयरमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी हुन आउने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गर्न लागिएको हो । सो शेयर २ लाख ७३ हजार आवेदकलाई १०/१० कित्ताका दरले वितरण गर्न पर्याप्त हुनेछ ।
सानिमा जनरल इन्स्योरेन्स गैर आवासीय नेपालीहरुको लगानी भएको निर्जीवन बीमा कम्पनी हो । यो बीमा कम्पनीले अघिल्लो वर्ष ३५ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको थियो । आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गरिएको विवरण अनुसार कम्पनीको नेटवर्थ १०३.७३ रुपैयाँ रहेको छ । यो नेटवर्थ अनुसार यो कम्पनीको पहिलो कारोबार मूल्य ३ सय ११ रुपैयाँसम्म हुनेछ ।
FACEBOOK COMMENTS