काठमाडौं, माघ ५ – सामसङ कम्पनीका उपाध्यक्ष ली जे–योङलाई सौल उच्च अदालतले साढे दुई वर्षको कारावास सजाय दिएको छ । उनले यो सजाय पाएपछि कम्पनीको नेतृत्वका विषयमा प्रश्न उठेको छ । लीले सम्पत्ति हिनामिना गरेको र घूसको आरोप छ । सजायको फैसला आएलगत्तै उनलाई हिरासतमा लिइएको छ ।
दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुन–हे सरकार अपदस्थ हुने भ्रष्टाचार मुद्दामा ली पनि संलग्न थिए । पार्क आफैं लगभग दुई दशक कारावास सजाय भोगिरहेकी छन् । लीलाई घूस दिएको र अन्य भ्रष्टाचार गरेको अभियोग सन् २०१७ मा लगाइएको थियो र त्यतिखेर पाँच वर्षको कारावास सजाय दिइएको थियो । तर पुनरावेदन अदालतले केही अभियोग खारेज गरेपछि अनि सजाय निलम्बन गरेपछि उनी एक वर्षमै रिहा भएका थिए ।
देशको सर्वोच्च अदालतले पुनः पुर्पक्षका लागि आदेश दिएपछि पछिल्लो सजाय सुनाइएको हो ।
सामसङलाई अप्ठ्यारो परेको बेलामा ली कारावास गएका छन् । उनका पिता ली कुन–ही कम्पनीका अध्यक्ष थिए र पोहोर साल उनको मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS