काठमाडौं, वैशाख २६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह आन्तरिक छलफलमा जुटेको छ । नेपाल–खनाल समूहका सांसदहरु सामूहिक राजिनामा बारे सल्लाह गर्न छलफलमा जुटेका हुन् ।
नेपाल समूहको स्थायी कमिटी बैठक बसेरर आधिकारिक रुपमै सांसद पदबाट राजीनामा दिने तयारी यस समूहले गरेको छ । एमालेलाई २०७५ साल को जेठ २ को अवस्थामा फर्काउन भन्दै नेपाल समूहले दबाब दिइरहेको छ ।
७५ साल जेठ २ गते नेकपा माओवादीसँग एकता हुनुअघिको स्थिती हो । एकतापछि सर्वोच्च अदालतले माओवादी र एमालेलाई अलग बनाएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओलीले पार्टीका सबै पदमा आफ्ना पक्षलाई राखेका थिए ।
त्यसक्रममा उनले माधव नेपाल र झलनाथ खनाल समूहका सबै नेता कार्यकर्तालाई जिम्मेवारविहीन बनाएका छन् । त्यसैले एमालेमा दुई पक्षबीच अन्तरद्वन्द कायम छ ।
यसैबीच, प्रधानमन्त्री केपीशर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि नेपाल समूहले सामूहिक राजिनामा दिएर विश्वासको मत पुग्न नदिने रणनीति बनाएका हुन् ।
FACEBOOK COMMENTS