काठमाडौं, १८ मंसिर – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अधिकारीहरुलाई आगामी साताबाट कोरोना भाइरसविरुद्ध सार्वजनिक खोप कार्यक्रम सुरु गर्न निर्देशन दिएका छन् । गत महिना रुसी कम्पनीले निर्माण गरेको कोरोना खोप स्पुतनिक भी संक्रमण नियन्त्रणको लागि ९२ प्रतिशत प्रभावकारी रहेको विवरण सार्वजनिक भएको थियो ।
रुसले अबको केही दिनमा २० लाख डोज खोप उत्पादन गर्ने पुटिनले दाबी गरे । उनले सबैभन्दा पहिला शिक्षक र मेडिकल क्षेत्रमा काम गर्ने मानिसहरुले यो खोप पाउने बताए । पुटिनले सहायक प्रधानमन्त्री टाटयना गोलीकोभासँग भने, ‘यो विषयमा सहमति गरौं कि तपाईंले मलाई अर्को साता रिपोर्ट बुझाउनुपर्दैन तर सार्वजनिक खोप कार्यक्रम सुरु गर्नुपर्नेछ । काम पहिला नै गरौं ।’
यसअघि रुसले सुरुमा यो खोप रुसी नागरिकले पाउने र अन्य मुलुकमा पनि आपूर्तिको लागि छलफल भइरहेको बताएको थियो । रुसमा निर्माण भइरहेको खोप रुसका नागरिकहरुलाई पर्याप्त हुने रुसले बताएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मारास्कोका अनुसार अहिले रुपमा एक लाखभन्दा धेरै मानिसहरुलाई यो खोप दिइसकिएको छ ।
FACEBOOK COMMENTS