काठमाडौं, मंसिर ५ – प्रविधिमैत्री सावर्जनिक यातायात विकासका लागि सरकारले ‘अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम’ (ओटीएमएस) लागू गरेको छ । मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–बिक्रीसम्बन्धी निर्देशिका–२०७७ स्वीकृत गरी लामो तथा छोटो दू्रीका सार्वजनिक सवारी साधनको लागि यो व्यवस्था लागू गरेको हो । यातायात व्यवस्था विभागले कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न र सार्वजनिक यातायात सेवा सहज, सुलभ, सुरक्षित र भरपर्दो एवम् प्रविधिमैत्री बनाउन अनलाइन टिकट खरिद बिक्री प्रणालीलाई व्यवस्थापन गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ ।
सरोकारवाला संस्थाहरुको समन्वयमा यो निर्देशिका तयार गरी एप्लिकेसन समेत लागू गरिएको विभागले जनाएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले एप्लिकेसनको शुभारम्भ गरे । उनले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्न यस्तो प्रणालीले ठूलो सहयोग गर्ने बताए । यातायात क्षेत्रलाई पारदर्शी, सुरक्षित तथा वातावरणमैत्री बनाउनु आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि नीतिगत व्यवस्थापन सुरु गरिएको मन्त्री नेम्वाङले बताए ।
टिकट बिक्री कक्षमा हुने भिड व्यवस्थापन एवं टिकट खरिद तथा बिक्री प्रक्रियालाई प्रतिस्पर्धी र पारदर्शी बनाउनका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न लागिएको विभागको भनाई छ । विभागका सूचना अधिकारी डा.लोकनाथ भुसालले यात्रु र व्यवसायी दुवैलाई यसबाट लाभ हुने तथा समग्र सार्वजनिक यातायात क्षेत्र यसबाट चुस्त हुने अपेक्षा रहेको बताए । यात्रु ठगिने, विचौलीया हावी हुनेलगायतका समस्या समाधान हुने उनको भनाइ छ । यस्तै विभागलाई अनुगमन र नियमन गर्नको लागि सहज हुने भुसालले बताए ।
अनलाइन टिकट खरिदका लागि सफ्टवेयर, मोबाइल एप्स, कम्प्युटरलगायत अन्य विद्युतीय प्रविधि प्रयोग गर्न सकिनेछ । हाल विभिन्न कम्पनीहरुले अनलाइन टिकट प्रयोगमा ल्याए पनि विभागको सफ्टवेयरमा भने जोड्न बाँकी छ । विभागले अनलाइन टिकट अनुगमन गर्ने संयन्त्र नै बनाएर नियमन गर्ने जनाएको छ । यात्रुले अनलाइनमार्फत वा टिकट काउन्टरमा नै गएर खरिद गरे पनि विभागले विकास गरेको सफ्टवेरमा कम्पनीहरुले अनलाइन इन्ट्री गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS