काठमाडौँ, अशोज १८ – कोरोनाका कारण झण्डै ६ महिना बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात खुला भएपनि यात्रुको संख्या भने न्युन देखिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रुको संख्या भने न्युन देखिएको हो । काठमाडौको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् ।
कोभिड–१९ को सङ्क्रमण हुनुभन्दा पहिले प्रत्येक दिन ६ देखि ७ सयको हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरीने गरेका थिए । तर, अहिले प्रत्येक दिन बढीमा अढाई सय सार्वजनिक यातायात बाहिरीने गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आन्तरिक उडानमा क्षमता बराबर यात्रु बोक्न पाउने र सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने गरी सरकारले गरेको विभेदकारी निर्णयका कारण सार्वजनिक यातायातमा यात्रु घटेको बताए । कोभिड–१९ र बन्दाबन्दीको असर पर्यटक बसमा समेत परेको व्यवसायीहरुले बताएका छन् ।
FACEBOOK COMMENTS