काठमाडौं, २२ पुष – सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने जनाएको छ । कम्पनीको आज (पुस २२ गते) सम्पन्न साधारण सभाले नयाँ जलविद्युत कम्पनीमा लगानी गर्ने प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने बाटो खुलेको हो ।
सो आयोजनामा कम्पनीले स्वपुँजीको ४०% सेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरिसकेको कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए । कम्पनीले भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७४–७५, २०७५–७६ र २०७६–७७ को सभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ४.७५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले आइपीओ निष्काशन गरेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो । सिनर्जीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
FACEBOOK COMMENTS