काठमाडौं, माघ २९ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ ।
गत बिहीबारदेखि गाउँपालिकाका एक सय जनाभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
एकै गाउँका स्थानीय बिरामी परेको बताएका श्रेष्ठले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति र मास्क पठाइएको बताए । गाउँपालिकामा डाक्टर नभएकाले बिरामीको स्वास्थ्य परीक्षण गर्न छिमेकी गाउँपालिका जलबिरे स्वास्थ्य इकाइका डाक्टर पिताम्बर खनाललाई लैजान लागिएको पनि उनले जानकारी दिए । बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्य परीक्षणको लागि विशेषज्ञसहितको टोली पठाउन अनुरोध पनि गरिसकेको छ । मन्त्रालयले बुधबार यसबारेमा थप छलफल गर्ने भएको छ ।
FACEBOOK COMMENTS