काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।
गत जेठ २७ गते बसेको बैंक सञ्चालक समितिको ३४५औं बैठकले पोखरेललाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । पोखरेल वैशाख १८ गतेदेखि कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
उनी विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा आवद्ध थिए । सञ्चालक समितिको निर्णय अनुसार पोखरेलले आजदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन् ।
नेपालका विभिन्न बैंकहरू स्ट्याण्डर्ड चार्टर्ड नेपाल बैंकमा १६ वर्ष, एनआईसी एशिया बैंकमा साढे पाँच वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक) मा २४ को वर्षको अनुभव हासिल गरेका पोखरेलसँग नेपालबाहिर विभिन्न अन्तर्राष्ट्रिय बैंकहरू स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाइटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष गरी तीन दशक लामो बैंकिङ अनुभव छ ।
डिजिटलाइजेसनको माध्यमबाट कर्मचारीहरूको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रूपमा अग्रसर हुँदै ग्राहकमैत्री विविध नवीन योजनाहरू ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गर्दै आएको छ ।
नवनियुक्त सीईओ पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाइमा पुर्याउने कुरामा आफू विश्वस्त रहेको सिभिल बैंकका अध्यक्ष इच्छा राजतामाङले बताउँदै बैंकले चालू आर्थिक वर्षमा व्यावसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरूमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको जानकारी दिए ।
सिभिल बैंकले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म रू. ८८.९४ अर्बको निक्षेप र रू. ८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ ।
FACEBOOK COMMENTS