काठमाण्डौ – सिभिल मलका व्यापारीहरुले सामुहिकरुपमा पसलको चाबी मलका सञ्चालकहरुलाई बुझाएका छन् । शुन्य आम्दानीमा व्यवसायीहरुलाई भाडा बहाल रकम अनिवार्य रुपमा भुक्तानी गर्न सञ्चालकहरुले ठाडो निर्देशन दिएपछि सो रकम भुक्तानी गर्न नसक्ने भएकाले उनीहरुले पसलको चाबी बुझाएका हुन् ।
नेपालमा दैनिक रुपमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा पसलहरु सञ्चालन गरे पनि बोहनी समेत हुन नसकेको सिभिल मल व्यापार संघले जनाएको छ । यस्तो अवस्थामा संघ र सञ्चालकबीच आपसी समझदारीमा यो विषय टुङ्ग्याउनु पर्नेमा आफूहरुको माग सुनुवाइ नगरी असार २५ भित्र भाडा वहाल रकम भुक्तानी नभए थप विलम्ब लाग्ने लिखित र मौखिक दबाब दिइएको उनीहरुको आरोप छ ।
एक रुपैयाँ आम्दानी नभएको र भोलिका दिनमा व्यापार हुने भएर तिर्ने कुनै उपयुक्त वातावरण नहुने निश्चित रहेको अवस्थामा कहाँबाट लाखौँ रकम ल्याएर दिन सकिन्छ भन्ने उनीहरुको प्रश्न रहेको छ । संघका अध्यक्ष रत्नबहादुर घिमिरेले वार्ताका लागि मल सञ्चलक र व्यापारी दुवै पक्षलाई गम्भीर भइ सन्तुलित सहमतिका लागि आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS