काठमाडौं , मंसिर २- प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजनाको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘वार रुम’बाट स्वीच थिचेर प्रधानमन्त्री ओलीले परियोजनाको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि प्रधानमन्त्री ओलीले यो परियोजनाको शुरुवात सँगै ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को नाराले सार्थकता पाएको जानकारी दिए । उनले अब सरकारको ध्यान देशमा गरिबी घटाउनतर्फ लक्षित हुने समेत बताए । प्रधानमन्त्री ओलीसँगै उद्घाटन कार्यक्रममा मन्त्रीहरुको समेत सहभागिता थियो ।
काठमाडौंबाट प्रधानमन्त्री ओलीले र निर्माणस्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा उदघाटन गरेका हुन्।
उद्घाटनसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरू गरेको छ । आयोजनाको पहिलो र दोस्रो युनिटमा ३०/३० मेगावाट गरी ६० मेगावाट जलविद्युत् क्रमशः जेठ ३ र साउन १७ गतेबाट परीक्षण उत्पादन शुरू गरिएको थियो ।
लामो प्रयास र मिहेनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
परियोजनाले आठ महिनाअघि नै विद्युत उत्पादन सुरू गरेको थियो । गत चैत्रदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको माथिल्लो त्रिशूली ‘ए’ आयोजनाको आज औपचारिक उद्घाटन गरिएको हो ।
सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रूपमा स्थापित गरेको छ । यो आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशत योगदान रहेको बताइएको छ ।
अनुमानित लागत १२ अर्ब ६० करोड रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) ढाँचामा विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्नेगरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते सम्झौता भएको थियो ।
२०७१ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबेला चिनियाँ कम्पनीसँग ८ अर्ब ९१ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको थियो ।
आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ–५ सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
FACEBOOK COMMENTS