काठमाडौं,कार्तिक ६- नेपाल भारत सीमासँग जोडिएको प्राय बजारमा नक्कली चुरोट खुलेआम रुपमा बिक्री वितरण भइरहेको पाइएको छ । धनुषा तथा महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोट खुकुरी र शिखरको खुलेआम बिक्रीवितरण भइरहेको पाइएको छ ।
सरकारी निकायको उदासिनताका कारण यस्तो समस्या देखिएको व्यापारीहरु बताउँछन् । यो समस्या धनुषा तथा महोत्तरी जिल्लामा मात्र नभई प्रदेश दुईका आठै जिल्लाभरी रहेको छ । जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँभन्दा बढी मूल्यको खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको हो ।
नक्कली चुरोट बरामत गरिएपनि बिक्री गर्नेलाई अहिले सम्म कुनै कारबाही भने भएको छैन । समान बरामद गर्नाले मात्र नपुग्ने भन्दै यसमा कारबाही प्रक्रिया अगाडि नबढे सम्म नक्कली समस्यामा कमी नआउने जानकार बताउँछन् ।
सरकारले नियम बनाए पनि नियमको कार्यन्वयन हुन नसकेकै कारण नेपालीबजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्यपदार्थको बिक्रीवितरण एवं कारोबार खुलेआम रुपमा हँुदै आएको जिल्लाप्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाको यदुकोहा ,सबैला, भठियन, भररिया, गोदार महोत्तरीको जलेश्वर, मटिहानी , सम्सी, गौशला र सर्लाहीको मलंगवा हरिपूर्वा लगायत स्थानमा छ्याप्छ्याप्ती रुपमा नेपाली ब्राण्डका खुकुरी र शिखर भारतीय नक्कली चुरोटको बिक्रीवितरण भईरहेको छ ।

सम्बन्धित निकायले ठोस रुपमा अनुगमान गर्न नसक्दा भारतसँग सिमा जोडिएका नेपालीक्षेत्रमा खुलेआम रुपमानक्कली ब्राण्डका सूर्तीजन्यपदार्थ बिक्रीभइरहेको छ भने राजस्व छली समेत हुदै आएको आन्तरिक राजस्वकार्यालयले जनाएको छ ।

नक्कलीभारतीय सूर्तीजन्यपदार्थ नेपालीबजारमा पाउन थालीएपछि नेपाली उद्योग धाराशायी हुने स्थितिमा पुगेका छन् । नक्कली खुकुरी चुरोट र असली चुरोटमा अन्तर सम्बन्धमा सूर्य नेपाल प्रालिले सक्कलीमा गाढा रातो रंगको डिब्बा हुने र नक्कलीमा हलका रातो हुने बताएको छ । त्यसै गरी सक्कलीमा स्टिकर लोगो रहेको छ भने नक्कलीमा केहि पनि नरहने जनाएको छ ।

ती जिल्लाका सीमावर्ती क्षेत्रबाट महिनामा कम्तीमा ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अबैध रुपमाभित्रिने गरेको दाबी स्वदेशी उत्पादकको छ । अवैध कारोबारीले प्रतिमहीना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान गरीएको छ भने नियगमनकारी निकायले कारबाहीम ाखासै चासो नदेखाएको आरोप उत्पादक प्रतिनिधिले लगाएका छन् ।
आ.व.२०७५÷०७६ मा अधिकतम ८७ % सम्म र सरदर सवै चुरोटमा ४०% भन्दा धेरैले कर बृद्धि गरिएको र आ.व. २०७६÷०७७ मा थप १० % कर बृद्धि गरिएकोले एकाएक सूर्तिजन्य पदार्थ विशेष गरेर चुरोटको अवैध व्यापार उल्लेख्य रुपमा बढेको छ । अत्याधिक कर लाग्ने भएकोले कर छलेर बेचिने यस्ता नक्कली चुुरोटमा अधिक नाफा हुने भएकोले अवैध व्यापार बढेको हो ।
राजधानीमा छ्याप्प छ्याप्ती पाइने विदेशी कर छलेका चुरोटका अलावा स्वदेशी ब्राण्डका नक्कली चुरोट समेत तराईका बजारमा छ्याप्प छ्याप्ती पाइन थालेपछी स्वदेशी उद्योग समस्यामा पर्ने मात्र नभइ नेपाल सरकारले समेत उल्लेख्य राजस्व गुमाउने देखिन्छ ।
उद्योग सम्बद्ध स्रोतका अनुसार गैरकानुनी चुरोटका कारण राज्यले करिब २३० करोड र अन्य गैरकानुनी सूर्तिजन्य पदार्थका कारण बर्षेनी करिब ५७० करोड गरी कुल ८०० करोड बराबरको राजश्व गुमाइरहेको छ । तर राज्यले यसलाई कम गर्ने भन्दा करको दर बढाई कानुनी उद्योगलाई मात्र करको मारमा पार्ने निती अङ्गिकार गरेको देखिन्छ ।
यस्ता क्रियाकलापले सरकारी अनुगमनमा चुनौती खडा गर्नुका साथै सरकारी राजस्व उठ्ने करोडौ रुपैंयाको क्षति हुन पुगेको छ । यसमा सरकारी निकायले ध्यान नदिने हो भने अन्य सामानमा समेत नक्कली सामान भित्रयाउने डर जनमानसमा उब्जिने र समग्र देशले यसको घाटा बेहोर्नु पर्नेछ । यसमा सरकार मात्र नभई सो स्थानका उपभोक्ता समितिले समेत तदारुकताका साथ आवाज उठाउनु पर्ने देखिन्छ ।