धनगढी, जेठ २२ – एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै प्रदेश सभा सदस्य बोहराले नेकपा एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन् ।
बजेट अधिवेशनको दोस्रो बैठकको सुरुवातमै बोल्दै बोहराले सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिएर सरकार गठनको बाटो खोल्नु पर्नेमा जोड दिए । एमाले (ओली समूह)का प्रदेश सभा सदस्य बोहराले राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो नरहेको बताए ।
‘यो सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ, त्यसको जानकारी संसद् सचिवालयलाई बुझाइसकेको छ,’ उनले भने, ‘नेकपा एमाले अब प्रतिपक्ष भएको छ । प्रतिपक्ष बेन्चमा बसाइँको व्यवस्थापनका लागि पनि म आग्रह गर्दछु ।’ तर, आजको बैठकमा एमालेलाई सत्तापक्षकै बेन्चमा बसाइएको थियो।
जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा माओवादी सरकारबाट नबाहिरीने संसदीय दलले निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ जना प्रदेश सभा सदस्य छन् त्यसमा ओली पक्षका ६ र नेपाल पक्षका १८ जना रहेका छन् ।
FACEBOOK COMMENTS