काठमाडौं, १९ माघ – माघ महिना सुरु भएयता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ। दैनिक १ सयको हाराहारीमा देखिने संक्रमण दर अहिले घटेर एक दुई जनामा सिमित भएको छ।
पहिलेको तुलनामा परिक्षणको दर पनि घटेको छ तर पनि परीक्षणको तुलनामा संक्रमण पुष्टि हुनेको संख्या पनि एकदम न्युन नै रहेको प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए। सोमबार सुदूरपश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार सुदूरपश्चिम प्रदेशमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थिएन। पछिल्ला केही दिन यता प्रदेशभरी गरि दैनिक १ सय जनाको हाराहारीमा मात्र कोरोना परिक्षण हुने गरेको छ। प्रदेशमा पाँच वटा प्रयोगशाला रहेपनि परिक्षण भने न्युन संख्यामा मात्र हुने गरेको छ।
सेती प्रादेशीक अस्पताल धनगढी, डडेल्धुरा अस्पताल, बैतडी अस्पताल, बझाङ अस्पताल र अछामको कमलबजार स्थित प्रयोगशालामा कोरोना परिक्षण हुने गरेको छ । पछिल्ला केही दिन यता भने यी सबै प्रयोगशालामा परिक्षण हुने गरेको छैन।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म प्रदेशभरी १ लाख ३५ हजार ७ सय १५ जनाको स्वाव संकलन गरिएकोमा १ लाख ३५ हजार ६ सय १७ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा १३ हजार ९ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सुदूरपश्चिममा सोमबार सम्म १२ हजार ७ सय ८ जना कोरोना संक्रमित डिष्चार्ज भैषकेका छन् भने हाल १२ सय १३ जना मात्र सकृय संक्रमित प्रदेशभरी रहेका छन्। मन्त्रालयका अनुसार हाल सुदूरपश्चिमका अस्पतालमा दुई जना संक्रमित मात्र उपचाररत रहेका छन्। दुई जना मध्य एक जना डडेल्धुरा अस्पताल र एक जना जोगबुडा अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रदेशका नौ वटा जिल्ला मध्य सबैभन्दा बढी सकृय संक्रमित कैलालीमा २ सय ७० जना रहेका छन् भने सबैभन्दा कम बैतडीमा ५४ जना रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस प्रदेशमा कोरोना संक्रमणबाट हाल सम्म ५५ जनाको मृत्यु भएको छ।