काठमाडौं, साउन २२। साताको चौथो दिन आज बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज १५०० रुपैयाँले बढेर ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यसरी निरन्तर बढ्दै गएको सुनको मूल्य अझै बढ्ने जनमानसमा देखिएको छ। करिब तीन महिनादेखि सुनको मूल्यमा १० हजार रुपैयाँको वृद्धि भएको छ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बढेर ६९ हजार २०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार तेजाबी सुनको मूल्य ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५९ हजार ५८५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५९ हजार ३३० रुपैयाँ कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले अमेरिका र चीनबीच व्यापार युद्धका कारण सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेका कारण त्यसको प्रभाव आन्तरिक बजारमा परेको बताए। उनि भन्छन,’भाउ एकाएक बढेको छ। घट्ने सम्भावना एकदमै न्यून छ। मूल्य वृद्धिका कारण व्यवसाय अस्तव्यस्त छ। यसले गर्दा व्यवसायीक स्थितिमा नै असर पर्ने सम्भावना रहेको हुनाले यसलाई राम्रो सन्देश मानिएको छैन।’
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश १ हजार ४८३ दशमलव ८५ डलर रहेको छ। भने, प्रति ग्राम सुनको मूल्य ४७ दशमलव ७१ डलरमा कारोबार भएको छ।
अघिल्लो वर्षको तीजको समयमा सुनको कारोबार ७५ प्रतिशतको कारोबार भएको थियो भने यस वर्ष २५ प्रतिशत पनि हुन नसकेको अध्यक्ष सुनारले जनाए।
FACEBOOK COMMENTS