काठमाडौं, फागुन ८- चीनमा फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको थियो ।
अहिले भने कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय व्यापार प्रभावित भएपछि विश्वबजारमै सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । साथै, आगामी दिनमा सुनको मूल्य थप बढ्न सक्ने महासंघको अनुमान छ ।
मंगलवार विश्व बजारमा सुनको मूल्य प्रतिऔंस (२.६६ तोला) १५८७ डलर थियो । तर बुधवार भने त्यो बढेर प्रतिऔंस १६०८ डलरसम्म पुगेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य प्रतितोला ७७ हजार १०० पुगेको छ, जुन हालसम्मकै महँगो हो ।
नेपालले अन्तरराष्ट्रिय बजारबाटै सुन आयात गर्ने हो । नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजार अनुसार नै निर्धारण हुन्छ र अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ । यसअघि सुनको मूल्य माघ १९ गते प्रतितोला रू. ७६ हजार ५०० पुगेर नयाँ रेकर्ड राखेको थियो । त्यसपछि भने रू. ७५ हजारको हाराहारीमा झरेको थियो । अहिले भने उक्त विन्दु पनि तोडेर नयाँ कीर्तिमान राखेको छ ।
महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले नेपालमा सुनको मूल्य प्रतितोला रू. ८० हजारसम्म पुग्ने अनुमान गरिएको बताए ।
उनले भने, ‘कोराना भाइरसका कारण अस्तव्यस्त भएको अन्तरराष्ट्रिय व्यापार तत्कालै साम्य हुने स्थिति छैन । विश्वबजारमा सुनको मूल्य प्रतिऔंश १७०० डलरसम्म पुग्ने अनुमान गरिएको छ । यदि त्यस्तो भयो भने नेपालमा सुनको मूल्य प्रतितोला ८० हजारभन्दा माथि जान सक्छ ।’
विश्वको ठूलो व्यापारिक मुलुकमध्ये चीन पनि एक हो । चीनले नेपाल, भारतसहित विश्वको धेरै मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । तर, अहिले कोरोना भाइरसका कारण चीनको वैदेशिक व्यापार अवरुद्ध भएको छ । फलस्वरूप विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्दा एशियाली, यूरोपेली लगायत मुलुकका शेयर बजार घट्दै गएका छन् । विशेषगरी एशियाली र यूरोपेली मुलुकमा चीनले गर्ने व्यापार अवरुद्ध भएको छ ।
‘विश्व शेयर बजार घट्न थालेपछि लगानीकर्ताहरूले लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन् । फलस्वरूप सुनको माग बढी र आपूर्ति कम हुँदा यसको मूल्य बढ्न थालेको हो,’ शाक्यले भने, ‘अहिले सुनको मूल्य बढ्नुको मुख्य कारण नै कोराना भाइरस हो ।’
सामान्य अवस्थामा नेपालमा सुनको मूल्य प्रतितोला रू. ६० हजारको हाराहारीमा थियो । अमेरिका र चीनको व्यापार युद्धका कारण गत असारदेखि सुनको मूल्य बढ्न थाल्यो । त्यसपछि इरान र अमेरिकाबीचको तनावले सुन भाउ झन महँगो भयो । अहिले कोरोना भाइरसले समेत यसमा प्रभाव पारेको छ ।आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS