जेठ २६ गते – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत चैत ११ गते लकडाउन सुरु भएसँगै स्थगित गरेको सुनचाँदीको दरभाउ निर्धारण कार्य आइतबारबाट पुनः सुचारु गरेको छ । आइतबार बजार खुल्दा सुनको मूल्य प्रतितोला १० हजार रुपियाँले बढेको छ ।
आइतबारका लागि सङ्घले तोकेको दरभाउअनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपियाँ रहेको छ भने तेजाबी सुनको मूल्य ८६ हजार ९६० रुपियाँ रहेको छ । त्यस्तै चाँदीको मूल्य ९२५ रुपियाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि २०७६ चैत १० गते कारोबार हुँदा छापावाल सुन प्रतितोला ७७ हजार र तेजाबी सुन प्रतितोला ७६ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी ७२० रुपियाँमा कारोबार भएको थियो ।
आइतबार बिहान करिब साढे १० बजे अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ६८५ डलरमा किनबेच भएको थियो । यद्यपि नेपाली व्यवसायीले भारतीय मूल्यलाई हेरेपछि नेपाली बजारमा मूल्य तोक्ने गर्दै आएका छन् ।
लकडाउनको मोडालिटी केही परिवर्तन हुने अपेक्षा गरिएकाले विभिन्न जिल्ला प्रशासन, सम्बन्धित महानगरपालिका÷नगरपालिका÷गाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य सङ्घको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्नका लागि मूल्य तोक्न थालिएको महासङ्घका प्रवक्ता मनोजकुमार शाहले बताउनुभयो ।
त्यस्तै असारमा विवाहलगायत शुभकार्यका केही साइत रहेकाले व्यवसायीले सुरक्षित रूपमा कारोबार गर्न माग गरेपछि मूल्य तोक्न थालिएको व्यवसायीले जनाएका छन् ।
सुन अन्तर्राष्ट्रिय बजारमा नै महँगिएका कारण तत्काल यसको मूल्य नघट्ने अनुमान व्यवसायीको रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरात्न शाक्यले बताउनुभयो । यद्यपि एकपटक एक हजार पाँच सय डलरमा झर्ला कि भन्ने अनुमान अन्तर्राष्ट्रिय बजारमा रहेको उहाँ बताउनुहुन्छ । यदि त्यो मूल्यमा झरेमा नेपाली बजारमा प्रतितोला ७५ हजार रुपियाँसम्म हुनसक्छ । त्यस्तै एक हजार आठ सयसम्म पुगेमा नेपाली बजारमा ९० हजारभन्दा माथि पुग्ने व्यवसायीको अनुमान छ ।
सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आवको बजेटमा सुनमा प्रतितोलामा दुई हजार ३३३ रुपियाँ भन्सार कर थपिएको छ । चालू आवमा भने यो दर सात हजार ५८० रुपियाँ कायम रहेको छ ।
FACEBOOK COMMENTS