अर्घाखाँची । सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिको बैठकले सुपादेउराली केबलकार प्रालिलाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म केबलकार निर्माण गरिनेछ ।
प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा पछिल्ला वर्षमा उल्लेखनीय वृद्धि भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताए । मन्दिरमा देवीको दर्शन गर्न कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी सङ्ख्यामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, बिहारबाट समेत धार्मिक पर्यटकहरु सुपादेउरालीमा आउने गरेको वडा नं ७ का अध्यक्ष चुराबहादुर केसीले बताए ।
सुपादेउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने जनविश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपादेउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । मन्दिरमा पाठी, बोकाको बली चढाउने चलन छ ।
FACEBOOK COMMENTS