काठमाण्डौ, साउन १० – सरकारले लकडाउन खुलाएपछि थप जोखिम बढेको भन्दै सुनसरी जिल्ला सदरमुकाम इनरुवा लकडाउन गरिएको छ । सदरमुकाम इनरुवामा पिसिआर परिक्षणका क्रममा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै सुनसरी प्रशासनले लकडाउन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सम्भावित जोखिम कमगर्न इनरुवा क्षेत्र लक डाउन गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
कोरोना पोजेटिभ भेटिएका व्यक्ति नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । मोरङ जिल्ला कार्यक्षेत्र भएका संक्रमित पुरुषसँगको कन्ट्याक टे«सिङका आधारमा इनरुवामा लकडाउन गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।
इनरुवा नगरपालिका–३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवार र अन्य व्यक्तिसँगको सम्पर्कको आधारमा क्लोज कन्ट्याकको अवस्था पहिचान गर्न थालिएको प्रशासनले जनाएको छ ।
बिराटनगरमा गरिएको परिक्षणका क्रममा इनरुवा घर भएका पुरुष कोरोना पोजेटिभ पाइएका थिए । घर आउजाउ गरेको र छरछिमेकमा घुमफिर र बजार पसलमा पुगेको जस्ता विषय अध्ययन गरी ट्रेसिङको काम जारी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार परिवार सहित १२ जनाको ट्रेसिङ गरिएको छ भने संक्रमित संगको प्रत्यक्ष सम्पर्कका आधारमा अन्यको समेत पहिचान थालिएको छ ।
यसैबिच कोरोना पोजेटिभ पाइएका व्यक्ति इनरुवाको मूख्य बजारमा रहेको दुर्गा स्टोरमा किनमेलका लागि पुगेको खुलेकाले उक्त पसल तत्काल सुनसरी प्रशासनले सिल गरेको छ ।
FACEBOOK COMMENTS