काठमाडौं, भदौ २७ – कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनले चैत ११ पछि लामो दुरीको सार्वजनिक यातायात ठप्प छ। लामो समय बस संचालन गर्न नपाउँदा व्यवसायी मर्कामा छन् भने मजदुरको हातमुख रोकिने अवस्था आएको छ। लामो समय गुड्न नपाउँदा बसका पाटपुर्जामा खिया लाग्न थालेको र टायर विग्रने भएकाले थप खर्च बढ्ने यातायात व्यवसायी बताउँछन्।
सरकारले लामो दूरीको सार्वजनिक यातायात संचालन गर्ने भन्दै पटकपटक मिति तय गरे पनि सरकार आफैले तोकेको मितिमा सवारी संचालन गर्न नपाउँदा यातायात व्यवसायी गुनासो गर्छन्। व्यवसायी आफैले असोज १ देखि जर्बजस्ती रुपमा भएपनि लामो दूरीको सार्वजनिक यातायात संचालन गर्ने दावि गरेका छन्। आवश्यक परे कानुनी कारबाही खेप्दै गाडी चलाउन पाउनुपर्छ भन्ने व्यवसायीको अडान छ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसीले असोज १ देखि लामो दूरीको सार्वजनिक बस संचालनका लागि तयारी गर्न मातहतका व्यवसायीलाई जानकारी गराएको बताए।
‘असोज १ देखि लामो दूरीमा गाडी चल्छन, त्यसका लागि गाडीलाई तयार पार्नु भनेर हामीले सुचना गरेका छौ,’ केसीले भने, ‘सरकारले सार्वजनिक यातायात खुलाउने दिन कुर्ने हो भने वर्षदिन लाग्न सक्छ। यसअघि सार्वजनिक यातायात संचालन गर्ने भनेर दिएको मिति सारियो। सर्तकता अपनाएर गाडी संचालन गर्ने हो। अब पनि सरकारी दिन कुर्ने हो भने व्यवसायी गाह्रो हुन्छ।’
भदौ ३१ गतेदेखि लामो दुरीको यातायातका लागि बसको टिकट बुकिङ खुल्ने पनि उनले बताए। ‘हामीले सरकारी मापदण्ड पुरा गरेर यात्रु बोक्दा अवरोध गर्न पाइदैन,’ उनले भने, ‘झन्डै ६ महिना कु¥यौ। तर, अब त अति भयो भनेर हामीले गाडी चलाउने निर्णय गरेका छौ। सरकारले अवरोध गरे पनि हामी रोकिन्नौ।’
उनका अनुसार पोखरामा मुख्यालय रहेको पृथ्वीका गाडी लामो दुरीको ६५ वटा रुटमा दैनिक रुपमा संचालन हुँदै आएका थिए। तर, कोरोना संक्रमणको यो अवस्थामा रुट घटाएर मुख्य २० वटा गन्तव्यमा मात्र गाडी चलाउने तयारी गरेको अध्यक्ष केसीले बताए।
पृथ्वीले पूर्वी गन्तव्य काकरभिट्टामा पोखरादेखि दैनिक ७ वटा गाडी चलाउने गरेकोमा असोज १ देखि २ वटा गाडी पठाउनेछ। त्यस्तै १६ वटा गाडी बुटबल चल्ने गरेकोमा ५ वटा मात्र चल्नेछन्। त्यस्तै वीरगञ्जमा तीनवटा रात्री बस जाने गरेकोमा तत्काल एउटा मात्र गाडी चल्नेछ। उनका अनुसार लामो दुरीमा चल्ने ती सवारीले आधा संख्यामा मात्र यात्रु बोक्नेछन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साई असोज १ गतेदेखि कुनैपनि हालतमा गाडी चल्ने बताउँछन्। ‘कोरोना संक्रमणबाट बच्न मापदण्ड अपनाएर संचालन गर्ने हो’, उनले भने, ‘सरकारले यातायात व्यवसायीलाई प्रति केहि चासो देखाएन। केही नभएपछि गाडी चलाउन बाध्य छौ।’
राष्ट्रिय महासंघको केन्द्रीय समिति बीचमा केही समय साइलेन्स बस्दा सरकारले यातायात क्षेत्रलाई झनै पेल्न थालेपछि पूर्व मेचिदेखि पश्चिम महाकालीका बस कम्पनिका व्यवसायी एकजुट भएर महासंघलाई दवाव दिएको उनले बताए।
FACEBOOK COMMENTS