काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको टिप्पणी गरेका छन् ।
पाण्डेले एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय भएको बताएका छन् ।
उनले भनेका छन्– ’जब नेतृत्व “म नै पार्टी र पार्टी नै म“ भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ। यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ ।’
नेता पाण्डेले ९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत नखुले कहिले खुल्ने ? भन्दै एमाले नेतृत्वलाई प्रश्न गरेका छन् । उनले अब पुरानो ढर्रा र गुटगत घेराबन्दीले एमाले नचल्ने स्पष्ट भएको बताउदै पार्टीलाई कसैको ’निजी क्लब’ होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य भएको बताएका छन् ।
FACEBOOK COMMENTS