काठमाडौं, कार्तिक १३ – सेयर बजारको आकार (कुल बजार पुँजीकरण) २२ खर्ब रुपैयाँ पुगेको छ । बुधबार नेप्से ४१.२० अंकले बढेको छ ।
यो वृद्धिसँगै समग्र नेप्से परिसूचक १ हजार ६ सय ४७.४५ बिन्दुमा उक्लेको छ भने कुल बजार पुँजीकरण २२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।
यसअघि यही कात्तिक ६ मा यस्तो पुँजीकरण २१ खर्ब ४६ अर्ब रुपैयाँ थियो । गत असोजअघि ०७३ साउन १२ मा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ थियो । असोजयता कुल बजार पुँजीकरणले नयाँ रेकर्ड बनाउँदै आएको छ ।
दसैं बिदा पनि बुधबार खुलेकाले बजार उच्च अंकले बढेको हो । बजार पुँजीकरण हालसम्मकै उच्च भए पनि समग्र नेप्से भने हालसम्मकै उच्च बिन्दुभन्दा अझै २ सय ३४ अंकले कम हो । ०७३ साउनमा नेप्से हालसम्मकै उच्च १ हजार ८ सय ८१ बिन्दुमा पुगेको थियो ।
बुधबार करिब साढे ४६ हजार कारोबारबाट १ सय ८८ कम्पनीका ९३ लाख २२ हजार कित्ता सेयर किनबेच भए । सो किनबेचमा २ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.८९ र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक २.९२ प्रतिशतले बढेको छ ।
उक्त दिन व्यापारबाहेक सबै समूहका परिसूचक बढे पनि समग्र नेप्से उच्च अंकले बढेको हो । बैंकिङ समूहको परिसूचक सबैभन्दा बढी ४.२७ प्रतिशतले बढ्यो भने विकास बैंक समूहको परिसूचक पनि झन्डै ३ प्रतिशतले वृद्धि भयो ।
सामूहिक लगानी कोष, जीवन बिमा, ‘अन्य’, वित्त कम्पनी र होटल समूहका परिसूचक पनि एक प्रतिशतभन्दा धेरैले उकालो लागे । लघुवित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र जलविद्युत् समूहका परिसूचक एक प्रतिशतभन्दा कमले बढे तर व्यापार समूहको परिसूचक ०.८ प्रतिशतले घट्यो ।
खासगरी लकडाउन खुकुलो भएपछि (गत भदौमा) खुलेको बजारमा राम्रो सुधार भएको छ । यो अवधिमा नेप्से करिब ५ सय अंक बढिसकेको छ । यो अवधिमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि तीव्र रूपमा बढेको छ ।
गत असोज दोस्रो सातासम्म करिब १ लाख २० हजार ५ सय जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । गत भदौ दोस्रो साता यस्तो संख्या ६४ हजार ६ सय १६ थियो । गत साउन र भदौमा करिब ४० हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका थिए ।
लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो सख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ६ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १ लाख बढेको देखिन्छ ।
दोस्रो बजारमा सेयर कारोबारका लागि ३ लाख ३७ हजार ३ सय ६० जना मात्र सक्रिय लगानीकर्ता छन् । पुँजी बजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आए पनि सक्रिय लगानीकर्ताको संख्या साढे ३ लाखभन्दा कम छ ।
गत भदौ दोस्रो साता यो संख्या २ लाख ८८ हजार र गत चैत ६ मा यस्तो संख्या २ लाख ३१ हजार थियो । यो नियामक निकायको निर्देशनअनुसार हरेक वर्ष ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गरेका लगानीकर्ताको संख्या हो । तीमध्ये पनि दैनिक रूपमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या कम छ ।
यस्तै, कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउन र त्यसपछि पनि दोस्रो बजारमा अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने लगानीकर्ता उच्च दरले बढेका छन् । सोही क्रममा गएको एक महिनामा अनलाइन सेयर कारोबारका लागि करिब ६० हजार लगानीकर्ता थपिएको नेप्सेले जनाएको छ ।
कोभिड–१९ को जोखिम बढेसँगै सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेप्सेले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेको लगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने संख्या बढेको बताइएको छ ।
FACEBOOK COMMENTS