काठमाडौं, चैत ९ – कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि शनिवार मात्रै ठूलो सख्यामा नेपालीहरू स्वदेश फर्केपछि तिनको स्वास्थ्य परीक्षण गर्न सीमामा रहेका स्वास्थ्यकर्मीलाई चुनौती बनेको थियो ।
भारतसँग जोडिएका नाकाहरूमध्ये शनिवार सबैभन्दा बढी विराटनगरको रानी नाकाबाट १८ हजार नेपाल भित्रिए । यस नाकामा स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहारामा भीड व्यवस्थापन गरिएको थियो ।
भारतीय पक्षले समेत चेकजाँच गरेर मात्रै नेपाल पठाइरहेका कारण चेकजाँच सामान्य तवरले भएको रानी नाकामा स्वास्थ्य परीक्षणमा संलग्न संजयकुमार सिंहले बताए । यसअघि शुक्रवार सोही नाकामा १७ हजार ७ सय ५० जना र बिहीवार २४ हजार १ सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको सिंहले बताए ।
कञ्चनपुरको गड्डाचौकीबाट १४ हजार नेपाली स्वदेश फर्किए । कोरोना संक्रमणबाट जोगिन शनिवार बिहानैदेखि गड्डाचौकी नाकामा ठूलो भीड लागेको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार नेपाल प्रहरी र सशस्त्रको सहारामा भीडलाई व्यवस्थापन गरिएको थियो ।
नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी कम हुँदा शनिवार बिहान भीड अनियन्त्रित बन्न पुगेको तर दिउँसोबाट व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको खतिवडाले अभियानलाई बताए ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बिहान कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाइन स्थलको अवलोकन गरे । मुख्यमन्त्री भट्टले भारतबाट हजारौंको संख्यामा भित्रिएका नेपालीहरू र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
कैलालीको गौरीफन्टाबाट एकै दिन ४ हजार र खंग्रौला नाकाबाट २ सय नेपाली भारतबाट भित्रिएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार गौरीफन्टाबाट भित्रिएका ३ जनामा ज्वरो देखिएपछि उनीहरूलाई अस्पतालमा पठाइएको छ ।
त्यस्तै, रूपन्देहीको सुनौली र कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपालीहरू आउने क्रम एकाएक बढेपछि सेनाको सहारा लिनुपरेको छ । सुनौली नाकाबाट १२ हजार नेपाली शनिवार मात्रै भित्रिएका छन् । कृष्णनगर नाकाबाट अरू बेला सामान्य रहन्थ्यो तर शनिवार मात्रै ४ हजार नेपाली सोही नाका हुँदै स्वदेश फिर्ता भएका छन् । दुवै नाकामा उच्च सतर्कता अपनाइएको र उनीहरूलाई स्वास्थ्य चेकजाँच पछि नेपाल भित्रन दिइएको छ ।
नेपाल फर्कनेको अत्यधिक चाप भएकाले जाँच प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवक खटाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले अभियानलाई जानकारी दिए । उनका अनुसार, जिल्लामा रहेका मेडिकल कलेज र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत पालो मिलाएर नाकामा खटाइएको छ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS