काठमाडौं- स्थानिय जनताले छपेली- माझखण्डमा ६० करोडको लागतमा केबलकार बनाउने भएका छन् । उनीहरू सबै मिलेर बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेली र ५ नम्बरस्थित माझखण्ड जोड्ने २ दशमलव ८ किमि लामो केबलकार बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेका छन् ।
२ सय घरधुरी भएको तामाङ बस्तीका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । तर उनीहरू देशमा नै केही गर्ने सोचका कारण बिदेसिएक थिए । उनीहरूले ग्रामीण पर्यटन प्रवद्र्धनमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने योजना बनाए ।
स्थानीय युवाहरू मिलेर अर्थमान लामाको अध्यक्षतामा माझखण्ड पर्यटन विकास समिति गठन गरे । उनीहरूले डेस्टिनेसन माझखण्ड कम्पनीका अध्यक्ष गोपाल सञ्जेलसँग मिलेर भट्टेडाँडा छपेलीबाट माझखण्डसम्म केबुलकार निर्माण गर्न तर्फ लागे । केबलकारको प्रतिवेदन स्विजरल्यान्डस्थित बार्थोलेट कम्पनीको समन्वयमा रोप वे एन्ड केबलकार कम्पनीले तयार पारेको छ ।
डीपीआर प्रतिवेदनअनुसार केबल कारको भौतिक संरचना बनाउन ६० करोड रुपैयाँ लाग्नेछ । उक्त लगानी निर्माण सम्पन्न भएको ६ वर्ष १० महिनाभित्रमा उठ्ने अनुमान गरिएको छ । ७० प्रतिशत बैंक र ३० प्रतिशत स्थानीयस्तरबाट लगानी जुटाएर निर्माण गरीने भएको छ ।
यो परियोजनाले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी योजनालाई समेत टेवा पुग्ने विश्वास लिएको छ ।
FACEBOOK COMMENTS