काठमाडौं, पुष १४ – स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्ना मि सिरजको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोनको रुपमा आफ्नो फ्ल्यागशिप सिरिज मि इलाभेन बजारमा ल्याएको हो ।
मि सिरिजको यो स्मार्टफोन साओमी एमआईयूआई १२.५ ओएसमा चल्नेछन् । साओमीका यो पहिलो यस्तो स्मार्टफोन हो, जसको साथमा चार्जर दिइएको छैन ।
साओमी मि इलाभेनको ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३,९९९ युआन (७१ हजार ७८२ रुपैयाँ) राखिएको छ । त्यस्तै ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मि इलाभेनको मूल्य ४,२९९ युआन (७७ हजार १६७ रुपैयाँ) छ ।
यसैगरी १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४,६९९ युआन (८४ हजार ३४७ रुपैयाँ) रहेको छ । कम्पनीका यी स्मार्टफोन स्ट्याण्डर्ड ह्वाइट, ब्लू र ब्ल्याक कलर भेरियन्टमा बजारमा उपलब्ध हुनेछ ।
फोनमा माइक्रो एसडीका लागि कुनै स्लट अनबोर्ड गरिएको छैन । यसको मतलव खरिद गरिसकेपछि यसमा थप स्टोरेजका लागि कुनै विकल्प हुने छैन ।
यस अलावा पछाडि भागमा लेदर फिनिससँगै स्मोक पर्पल तथा मट्याइलो खैरो कलर भेरियन्टमा समेत यी स्मार्टफोन खरिद गर्न सकिनेछ । यो ह्याण्डसेटको बिक्री चिनियाँ बजारमा जनवरी १ देखि सुरु हुनेछ ।
साओमी मि इलाभेनमा ६.८१ इन्च तथा ३२०० बाई १४४० रेजोलुसन भएको एमोलेड क्यूएचडी प्लस स्क्रिन प्यानल राखिएको छ । जसको रिफ्रेश रेट १२० हर्ज तथा टच स्याम्पलिङ रेट ४८० हर्ज रहेको छ ।
मि सिरिजमा फाइभजी सपोर्ट गर्ने क्वालकम स्नापड्रागन ८८८ चिपसेट राखिएको छ । फोनमा पावरका लागि ४६०० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।
जसले ५५ वाट वायर्ड फास्ट चार्जिङ तथा ५० वाट वायरलेस फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट गर्दछ । साओमी मि इलाभेनमा हार्मन तथा कार्डन साउन्ड ट्युनिङका साथै स्टेरियो स्पिकर समेत राखिएको छ ।
यसमा पछाडि भागमा तीन वटा क्यामेराको सेटअप रहेको छ भने अगाडि भागमा सेल्फीका लागि सिंगल पञ्चहोल क्यामेरा दिइएको छ । यसको पछाडि भागमा १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ ।
जुन ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) युक्त रहेको छ । त्यससँगै फोनमा १३ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स र पाँच मेगापिक्सेलको म्याक्रो सेन्सर लगाइएको छ ।
सेल्फीका पारखीहरुका लागि यसमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र बिल्ट इन हार्ट रेट सेन्सर रहेको यो फोनमा एनएफसी तथा वाईफाई सिक्स ई सपोर्ट समेत रहेको छ ।
FACEBOOK COMMENTS