काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अन्य व्यक्तिहरू गएको भन्ने विषयमा निश्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० दीपक थापालाई छानबिनका लागि आवश्यक निर्देशन दिएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल बाहेक स्पेनमा को-को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमणमा सहभागी भए भन्नेबारे छानबिन गर्न निर्देशन दिएको छु। भिजिट भिसाको प्रबन्ध कसले गर्यो भन्नेबारे पनि अनुसन्धान हुनेछ।’
गृहमन्त्री लेखकका अनुसार यस विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्युरो समेत खटाइनेछ। उनले थपे, ‘छानबिनपछि दोषी देखिएकाहरूमाथि कानुनी कारबाही हुनेछ।’
प्रधानमन्त्रीको हालैको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक केही व्यक्तिहरू अनधिकृत रूपमा सहभागी भएको भन्दै चासो व्यक्त गरिएको थियो। गृह मन्त्रालयले छानबिन गरी यथार्थ सार्वजनिक गर्ने जनाएको छ।
FACEBOOK COMMENTS