काठमाडौं, कात्तिक १७ – स्मार्टफोन बजार हिस्सामा चिनियाँ कम्पनी शाओमीले पहिलोपटक एप्पललाई उछिनेको छ। अघिल्लो वर्षभन्दा यसपालि बजार हिस्सा ४२ प्रतिशत बढेसँगै शाओमीले स्मार्टफोन बजारमा आफूलाई तेस्रो नम्बरमा उकालेको छ।
हिन्दुस्तान टेकका अनुसार स्मार्टफोन बजार हिस्सामा सामसुङ पहिलो स्थानमा छ भने हुवावे दोस्रो। अहिले शाओमी तेस्रो स्थानमा परेको छ एप्पल चौथोमा।
बजार अनुसन्धान कम्पनी इन्टरनेसनल डाटा कर्पोरेसनका अनुसार एप्पलले यो वर्षको तेस्रो त्रैमासिकमा गत वर्षको यही अवधिमा भन्दा १०.६ प्रतिशत कम आइफोन बिक्री गरेको छ।
यसले गर्दा एप्पलको बजार हिस्सा ११.८ प्रतिशत मात्र भएको छ। शाओमीको भने यसपालि १३.१ प्रतिशत पुगेको छ। शाओमीको यो बजार विस्तार भारत र चीनमा भएको ठूलो फाइदाका कारण भएको म्याकरुमर्सले बताएको छ।
२२.७ प्रतिशत बजार हिस्सा ओगट्दै सामसुङ पहिलो स्थानमै छ। यो वर्ष सामसुङको बिक्रीमा २.९ प्रतिशत वृद्धि भएको इन्टरनेसनल डाटा कर्पोरेसनले जनाएको छ।
FACEBOOK COMMENTS